सिँचाईका लागि भूमिगत पानीको डिप बोरिङ



सुनसरी, १० माघ
कृषिका लागि पकेट क्षेत्र मानिएको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित पानबारीमा डिप बोरिङ गरी ४० हेक्टर क्षेत्रफलमा पानीको सिँचाई गर्ने योजना अनुसार बोरिङ कार्य भइरहेको छ । पानबारीको शितल चोकबाट पानी निकालेर पम्पको माध्यमले कलबोटसम्म पुर्याई त्यसभन्दा तल रहेको भूमिमा सिँचाई गरिने भएको हो ।

भूमिगत सिंचाई निर्देशनालय अन्तर्गतको भूमिगत जल सिँचाई विकास डिभिजन कार्यालय विराटनगरले पहिलो चरणको अन्वेषण स्वरूप डिप बोरिङ्गको काम गरिरहेको छ । डिभिजनको आर्थिक सहयोगमा डिप बोरिङको काम भइरहेको डिभिजन कार्यालयका हाइड्रोजियोलोजिष्ट मनोज विष्टले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा रेश्मा डिप बोरिङ कम्पनीले २७ लाखको ठेक्कामा डिप बोरिङको काम सम्पन्न गरिसकेको छ । कम्पनीले डिप बोरिङका लागि एक सय ७० फिट खनेर पाइप बिछ्याइसकेको छ । ‘यस वर्षको कार्यक्रमअन्तर्गत डिप बोरिङ गर्ने योजना मात्र रहेकाले अर्को वर्ष पम्पिङ्गको लागि बजेट विनियोजन हुन्छ’ उनले भने, ‘अहिले चाँही अन्वेषण मात्रै हो ।’

बहुवर्षे योजना अन्तर्गत सुरु गरिएको योजना सन्चालनमा आउन भने थप एक वर्ष लाग्ने बताइएको छ । विष्टले यस वर्ष ड्रिल गरेर पाइप लाइन लगाइसकिएको र आउँदो वर्ष पानी तान्ने पम्प जडान गरेपछि भूमिगत पानी निकालेर सिँचाईमा पुर्याइने बताए । अहिले धमाधम निर्माण भइरहेको योजना भूमिगत सिँचाई डिभिजन कार्यालयको अन्वेषणात्मक योजना हो । भूमिगत पानीको अनुसन्धानको लागि बोरिङ गरिएकोले यसको पहिलो प्राथमिकता भूमिगत पानीको अनुसन्धान भएको समेत बताए ।

अनुसन्धानको लागि बोरिङ गरिएको भएपनि यसलाई सिचाईका लागि प्रयोगमा ल्याउने र योजना सम्पन्न भएपछि स्थानीय कृषकको ‘जल उपभोक्ता समिति’ बनाएर स्वामित्व हस्तान्तरण गरिने भएको छ । स्वामित्व हस्तान्तरणपछि स्थानीयले नै उक्त योजना सन्चालन गरी लाभ लिन सक्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्