आज मुलुकभर वर्षासंगै हिमपात



 काठमाडौं, १० माघ

आज देशका अधिकांश भेगमा पश्चिमी वायुको प्रभावका कारण वर्षा सुरु भएको छ । पश्चिमी वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको छ ।  मौसमविद् शान्ति कँडेलको अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ ।

यो वायुको प्रभाव साँझसम्म कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उनको भनाइ छ । काठमाडौँ उपत्यकाको आज तापक्रम ७.३ डिग्री सेल्सियस भएपनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वीरेन्द्रनगरबाहेक सबै स्थानमा वर्षा भएको महाशाखाको पछिल्लो विवरणले जनाउछ । आज काठमाडौँमा दुई मिलीमिटर वर्षा भएको छ । सबैभन्दा बढी डडेल्धुरामा १२ मिलीमिटर वर्षा भएको छ ।

आज हिमालपारीको जिल्ला मनाङमा भारी हिमपात भएको छ । बुधबार बिहान ३ बजेदेखि मनाङमा हिमपात सुरु भएको हो । लगातारको हिमपातका कारण मनाङको जनजीवन प्रभावित भएको छ । उता दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्