गिरिजाप्रसाद कोइरालाको जीवनी



१० माघ : नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात् वि.सं. १९८१ मा स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा भएको हो । त्यतिबेला कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्सामा निर्वासित जीवन बिताइरहेको थियो ।

गर्भमा रहेका बेला कोइरालाका माता-पिता गिरिजादेवीको मन्दिर जानुहुन्थ्यो । सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद वा गिरिजादेवी राख्ने सल्लाहअनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो । उहाँले भारतमा अङ्ग्रेज धपाउने आन्दोलनलाई नजिकबाट हेर्ने अवसर पाउनुभयो । सन् १९५०-५१ मा नेपालमा चलेको प्रजातन्त्र बहालीको आन्दोलनमा लागेका कोइराला सन् १९४७-४८ को विराटनगरस्थित जुटमिलको मजदुर हड्तालमा सक्रिय सहभागी हुनुभएको थियो । राणाशासनमा परिवारसँगै जेल परेका कोइराला राणाशासनको अन्त्यपछि नेपाली कांग्रेस मोरङ जिल्ला सभापति हुनुभयो । उहाँ नेपाल ट्रेड युनियन कांग्रेस -नेपाली कांग्रेसको मजदुर एकताका लागि खोलिएको भ्रातृ संगठन) को संस्थापक अध्यक्ष हुनुभयो । २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि उहाँले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौं नेतासँग नजरबन्द र त्यसपछि सात वर्ष लगातार जेल सजायू भोग्नुभयो । २१ दिन भोक-हडताल गरी उहाँ सन् १९६७ मा जेलबाट छुट्नुभयो । सन् १९८६ मा उहाँकी धर्मपत्नी सुष्मा कोइरालाको निधन भयो । कोइरालाले सन् १९७१ देखि भारतमा निर्वासित जीवन बिताउनुभयो । सन् १९७६ मा भारतको पटनामा भएको कांग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि उहाँ डेढ दशकसम्म -२०३३-४७) उक्त पदमा रही २०४८ को आमनिर्वाचिनपछि जननिर्वाचित प्रधानमन्त्री -२०४८ साल जेठ १२ देखि २०५१ मंसिरसम्म) रहनुभयो । प्रधानमन्त्री नियुक्त हुँदा कोइराला नेपाली कांग्रेसका महामन्त्री हुनुहुन्थ्यो । कोइराला २०४८ को आमनिर्वाचनमा मोरङ क्षेत्र नम्बर-१ सुनसरी क्षेत्र नम्बर-३ का साथै २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर-१ र सुनसरीको क्षेत्र नम्बर-५ बाट निर्वाचित हुनुभयो । २०५३ साल वैशाख २६-२८ मा काठमाडौंमा भएको नेकाको नवौू महाधिवेशनबाट उहाँ पार्टी सभापति हुनुभयो । सूर्यबहादुर थापाले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि उहाँ प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेताका हैसियतले अल्पमतको सरकारको नेतृत्व गर्दै २०५४ साल चैत ३० गते दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो ।

२०५४ साल फागुन २१ गते प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएपछि नेपाली कांग्रेस प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भयो । कोइराला नेतृत्वको सरकारमा पछि नेकपा एमाले विभाजन भएपछि बनेको दल नेपाल कम्युनिस्ट पार्टी माले सम्मिलित भयो । कोइराला नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता हुनुहुन्थ्यो । अल्पमत सरकारका प्रधानमन्त्रीले राजीनामा गरेपछि कोइराला नेपाली कांग्रेस, नेकपा एमाले आदिको संयुक्त सरकारको नेतृत्व गर्दै तेस्रो पटक २०५५ साल पुस ८ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । कांग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदीय दलको नेताको निर्वाचनमा विजयी भएपछि २०५६ साल चैत ७ गते चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका कोइरालाले २०५८ साल साउन ४ गते पदबाट राजीनामा दिनुभयो ।

जनआन्दोलन २ पछि २०६३ वैशाखमा उहाँ फेरि पाँचौं पटक प्रधानमन्त्री बन्नुभयो । संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो । लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान् नेताको सम्मान पाएका कोइराला १० वर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो । संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम विश्वमा चर्चित छ । ०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रूपमा प्रस्तुत हुने कोइरालाको छवि कम्युनिस्ट विरोधीका रूपमा समेत चर्चामा थियो ।

२०४६ सालको जनआन्दोलन पछिको दशकमा उहाँको नाम कम्युनिस्ट विरोधीको पर्यायकै रूपमा आउने गरेको थियो । सुरुमा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिस्टका लागि अनुदार व्यक्तिका रूपमा चित्रित हुनुभयो । राजा ज्ञानेन्द्रले संकटकाल लगाई उहाँ लगायत अन्य संसदवादी दलका नेताहरूलाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा जनयुद्ध लडिरहेको कम्युनिस्ट पार्टीसँग समेत हातेमालो गर्नुभयो । युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमै रहनुभयो । कोइरालाकी एकमात्र छोरी सुजाता एमाले नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुभएको बेला नेपाली कांग्रेसमा परिवारवाद हावी भएको भन्दै कोइरालाले कडा आलोचना समेत खेप्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्