आर्मीको दबदबा तोड्ने थ्रीस्टारको योजना



काठमाडौं, १० माघ

बुधबार हुने मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन् । प्रतियोगिताको क्वाटरफाइनलमा थ्री स्टारले एपिएफलाई २-१ ले पराजित गरेको थियो ।

आर्मीसँग पराजित हुँदै यसअघि सुदुरपश्चिममा आयोजित खप्तड गोल्डकपको क्वाटरफाइनलमा थ्रीस्टार खाली हात फर्कन बाध्य भएको थियो । ललितपुरे टोलीले आजको खेलमा जित हात पार्नेमा टोलीका प्रशिक्षक मेघराज केसी सकारात्मक छन् । ‘हामीले सुदूरमा निकै प्रतिस्पर्धात्मक खेलमा हारेका हौं । डेढ वर्षपछि मैदानमा फर्किएको कारण टोली सेट भएको थिएन । अहिले हामी सेट भएका छौं र राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं,’ उनले भने ।

मेघराज केसी थ्रीस्टार आउनुअघि त्रिभुवन आर्मी क्लबका प्रशिक्षक रहेका थिए । उनकै प्रशिक्ष्क्त्वमा आर्मीले राष्ट्रिय लिगमा दोस्रो स्थान तथा विभिन्न मोफसलका प्रतियोगिताहरुमा उपाधि जितेको थियो । थ्रीस्टार आएपछि मेघराजले टोलीलाई गुहावटीमा भएको भारत रत्न बोर्डोलोई ट्रफीको उपाधिका साथसाथै टोलीलाई एएफसी कपको प्लेअफ चरणसम्म पुर्याएका थिए । तर एन्फाको गल्तीले क्लबले प्लेअफ खेल्न नपाउँदा टोलीले लामो समय विश्राम लियो । पुनरागमनको पहिलो प्रतियोगितामा असफल भएपनि टोलीमा नाम चलेका खेलाडीको बाहुल्यता छ ।

प्रतिक्रिया दिनुहोस्