![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2018/01/Birgunj-Bhansar.jpg?fit=720%2C360&ssl=1)
वीरगञ्ज ९ माघ : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ ।
इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो ।
चालु आवको पुस मसान्तसम्म वीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले छ महिनामा मात्रै भारतबाट नेपाल भित्रिएका सवारी साधनबाट रु २१ अर्ब ७९ करोड र इन्धनबाट रु सात अर्ब ९५ करोड १९ लाख राजश्व संकलन गरेको छ ।
गत पुस मसान्तसम्म भारतबाट वीरगञ्ज भन्सार नाका भएर रु १८ अर्ब ७४ करोड ८० लाख मूल्य बराबरको सवारी साधन नेपाल भित्रिएको थियो । चालु आवको छ महिनाको अवधिमा भारतबाट रु ३५ अर्ब १० करोड ४५ लाख ९१ हजारको इन्धन, रु १६ अर्ब ८३ करोड १८ लाखको डिजेल, रु ६ अर्ब ५१ करोड ८९ लाख ३१ हजारको पेट्रोल, रु चार अर्ब ३० करोड ४८ लाख ५० हजारको हवाई इन्धन, रु ३१ करोड ८१ लाख ७९ हजारको मट्टितेल तथा रु सात अर्ब १३ करोड सात लाख ७१ हजारको एलपी ग्यास नेपाल भित्रिएको छ ।