म्यानचेस्टर सिटीका स्टार मिडफिल्डरलाई पाँच वर्षको नयाँ अनुबन्धन



 काठमाडौं, ९ माघ

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभीन डे ब्रुएनले पाँच वर्षको नयाँ अनुबन्धन थप गरेका छन् । यस अनुबन्धनसँगै उनले म्यानचेस्टर सिटीको साथलाई सन् २०२३ सम्म लम्ब्याएका छन् । २६ वर्षीय बेल्जियन प्लेमेकरले यसअघि सन् २०२१ सम्म अनुबन्धन गरेपनि क्लबले उनलाई अझै राम्रो तलबसुबिधा सहितको करार दिएको हो । जारी सिजनमा ६ गोलका साथै १० असिस्ट प्रदान गरिसकेका डे ब्रुएन सन् २०१५ मा सिटी आएका थिए । उनलाई भित्र्याउन सिटीले त्यसबेला जर्मन क्लब वल्फ्सबर्गलाई साँढे पाँच करोड पाउण्ड खर्चेको थियो ।

सन् २०१२ मा चेल्सी आएपनि त्यहाँबाट जम्मा ३ खेल खेलेका केभीनलाई जर्मन क्लबले किनेको थियो । त्यसपछि जर्मन क्लबमा उच्च फर्ममा देखिएका उनलाई युरोपका ठूला क्लबले पछ्याएका थिए । सिटीमा आगमनसँगै उनले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । उनको उत्कृष्ट खेलको मदतले सिटी जारी सिजन सबै प्रतियोगितामा जिवितै छ ।

उनले नयाँ करार गरेसँगै अन्य क्लबहरुले उनलाई पछ्याउन छाड्ने पनि पक्का भएको छ । यसअघि रियल म्याड्रिड र बायर्न म्युनिखले डे ब्रुएनलाई भित्र्याउन ठूलो रकम खर्चने हल्ला चलेको थियो । तर गुआर्डीओलाको आग्रहमा क्लबले उनलाई मागअनुसारको नयाँ अनुबन्धन गरेको हो ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्