प्रचण्डलाई उत्तर कोरियाको निम्तो



काठमाडौं, ८ माघ

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले भेट गरेका छन्। दाहाललाई भेट्न उनी आइतबार माओवादी मुख्यालय पेरिसडाँडा पुगेका थिए।

हाकले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवसमा आतिथ्यताको लागि दाहाललाई निमन्त्रणा गरेका छन्। भेटमा राजदूत ले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष दाहाललाई बधाई दिएको सचिवालयले जनाएको छ।

हाकले दक्षिण कोरिया र उत्तर कोरियाका जनता र आफूहरु पनि राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गरेका थिए।

जवाफमा अध्यक्ष दाहालले कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जानकारी दिए। अध्यक्ष  दाहालले किम इल सुङको सङ्घर्षको गाथाबारे आफु जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्