नागरिकमा सूचनाको हक पुर्याउन आवश्यक



काठमाडौँ, ८ माघ
सार्वजनिक सरोकारका विषयमा सूचना पाउने नागरिकको अधिकारलाई जनस्तरसम्म पुर्याउनुपर्ने आवश्यक देखिएको छ ।

नेपाल पत्रकार महासंघले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला पत्रकारको पहुँच’ विषयक अन्तक्र्रियामा राष्ट्रिय सूचना आयोगका आयुक्त तथा प्रवक्ता यशोदा तिम्सिनाले सार्वजनिक सरोकारका विषयमा सूचना पाउने नागरिकको अधिकारलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिए ।

उनले समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि हरेक नागरिकले सार्वजनिक सरोकारका विषयमा जानकारी राख्न आवश्यक रहेको र पत्रकारका निम्ति मात्रै नभई सार्वसाधारणका लागि समेत महत्वपूर्ण रहेको उल्लेख गरे ।

निवर्तमान उपाध्यक्ष अनिता बिन्दुले सूचनाको हकको कानून पत्रकारका निम्ति मात्रै देखिएको भए तापनि आम नागरिकको अधिकारका रुपमा व्यवहारमा उतार्नुपर्ने धारणा राखे ।

महिला विभाग संयोजक लक्ष्मी पुनले पत्रकारले सूचनाको हकको प्रयोग गर्न जरुरी भए पनि सार्वजनिक सरोकारका विषयमा नागरिकलाई पनि सूचना खोज्नका लागि प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए ।

सगरमाथा आरोहण गर्न जाने पत्रकारलाई शुभकामना

नेपाल पत्रकार महासंघको महिला विभागले आज आयोजना गरेको कार्यक्रममा सगरमाथा आरोहण गर्न लागेका सात महिला पत्रकारलाई शुभकामना दिएको छ ।

पत्रकार देउराली चाम्लिङ, रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ तथा डोमा शेर्पाले सगरमाथा आरोहण गर्न लागेका उनीहरुलाई शुभकामना दिइएको हो ।

महासंघका महासचिव रमेश विष्टले सगरमाथा आरोहण गर्ने पत्रकारलाई शुभकामना दिँदै महासंघले यस अभियानलाई समर्थन गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

महासंघका उपाध्यक्ष दिलीप थापामगर, महिला विभाग संयोजक लक्ष्मी पुन, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव महेश्वरी विष्ट, सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव संगीता ओझा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष टीका विष्ट तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सलोजा दाहालले आरोहण गर्ने पत्रकारलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्