५ नं प्रदेशसभा सदस्यबाट शपथ



बुटवल, ७ माघ : प्रदेशसभामा नवनिर्वाचित प्रदेश नं ५का सदस्यले आज प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलमा  पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेललाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, राष्ट्र र जनताप्रति समर्पित रही शपथ खुवाएपछि पोखरेलले प्रदेशसभाका अन्य सदस्यलाई सामूहिक रुपमा शपथ गराउनुभयो । नेपाली काँग्रेसबाट समानुपातिकबाट छनोट हुनुभएका पोखरेलको जन्म विसं १९९५ माघ १९ गते प्यूठानमा भएको हो । उहाँ रुपन्देहीबाट प्रदेशसभा सदस्यमा समानुपातिकमा चयन हुनुभएको हो ।

अस्थायी मुकाम बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा स्थापित प्रदेशसभा संसद्को कार्यालयमा प्रदेश सदस्यको शपथ कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित ५२ र समानुपातिकतर्फका ३३ प्रदेश सदस्यले शपथ लिनुभएको छ । नेकपा (एमाले)बाट समानुपातिकमा निर्वाचित अर्घाखाँचीकी जालपा भुसाल र राष्ट्रिय जनता पार्टीकी बिन पन्त आजको शपथ कार्यक्रममा उपस्थित हुन नसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्