दाङमा जारी आमहड्ताल स्थगित : फेरियो आन्दोलनको स्वरुप



७ माघ २०७४

दाङ — पाँच नम्बर प्रदेशको अस्थाई मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द शनिबार रातिदेखि फिर्ता भएको छ ।

संयुक्त सर्वदलीय संघर्ष समितिको शनिबार बेलुका बसेको बैठकले हाललाई बन्द र हड्तालका कार्यक्रम स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्नुका साथै निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिंदै केही समयका लागि बन्द र हड्तालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ । बन्दका कार्यक्रम स्थगित भएपछि लामो समयदेखि पूर्व पश्चिम राजमार्गत अन्तर्गत दाङको सिमा क्षेत्रमा रोकिएका सवारी साधन चल्न थालेका
छन् । जिल्लाभित्र पनि यातायातका साधनहरु सञ्चालन हुन थालेका छन् । संघर्ष समितिले आन्दोलनका क्रममा जनमानसमा पर्न गएको असुबिधाप्रति क्षमायाचना गरेको छ ।

बैठकले आन्दोलनका रुवरुप परिवर्तन गरी नयाँ कार्यक्रम तय गरेको संघर्ष समितिका सचिव एवं माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज निर्मल आचार्यले जानकारी दिए ।

अब कालोझण्डा प्रदर्शन, डेलिगेशन, बिरोधसभा, रिले अनशन, धर्ना, कानूनी उपचार जस्ता कार्यक्रम गरिने उनले बताए । आइतबार सबै दाङबासीलाई आफ्नो निवासमा कालो झण्डा राख्न अनुरोध गर्ने, सार्वजनिक स्थानमा कालोझण्डा गाड्ने, दिउँसो १ बजे जिल्लाका मुख्य बजार घोराही, तुलसीपुर, लमही र भालुबाङमा कालोपट्टीसहित बिरोध जुलुश गर्ने निर्णय भएको आचार्यले बताए । बाँकी कार्यक्रम आइतबार बस्ने बैठकले तय गर्ने समितिका संयोजक एमाले जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिए ।

बैठकमा एमाले अध्यक्ष खड्काका साथै जिल्ला ईञ्चार्ज मेटमणी चौधरी, जिल्ला उपसचिव सुरामणी बेल्बासे, काँग्रेस सभापति किर्तीबहादुर खड्का, उपसभापति कमानसिंह भारती, सचिव शंकर डाँगी, माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज जीवन गौतम, सहईञ्चार्ज आचार्य लगाएतको सहभागिता थियो । (कान्तिपुर)

प्रतिक्रिया दिनुहोस्