विश्वका सर्वाधिक धनी फुटबल खेलाडी



काठमाडौं, ५ माघ

लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो अथवा नेयमारको नाम सर्वाधिक कमाउने खेलाडीको सूचीमा आउने गर्दछ । तर सम्पतिको आधारमा भने १९ वर्षीय लेस्टर सिटीका मिडफिल्डर फैक बोलकिया सम्भवतः विश्वका सर्वाधिक धनी फुटबल खेलाडी हुन् ।

१९ वर्षीय बोलकिया ब्रुनई राष्ट्रिय टोलीका सदस्य तथा कप्तान हुन् । उनी ब्रुनईका सुल्तान हसनल बोलकियाका भतिजा हुन् । हसनलसँग कुल २० बिलियन अमेरिकी डलर बराबरको सम्पती रहेको छ । जहाँ रोनाल्डो र मेस्सीको सम्पतीको मुल्यांकन करिब ५ सय मिलियन डलरको हाराहारीमा गरिएको छ ।

फैकका पिता , सुल्तान हसनलका कान्छा भाइ जेफ्री बोलकियाका ब्रुनईको अर्थ मन्त्री तथा ब्रुनई इन्भेस्टमेन्ट एजेन्सीको अध्यक्ष समेत रहेका थिए । जेफ्रीसँग करिब २ बिलियन डलर बराबरको सम्पति रहेको छ ।

फैकका पिता विलासिता जीवन विताउँछन् । उनीसँग २ हजार भन्दा धेरै विलासी गाडी तथा विभिन्न देशमा बंग्लो रहेका छन् । उनको ५० औं जन्मदिनको पार्टीमा उनले पप गायनका राजा मानिने माइकल जेक्सनलाई १७ मिलियन अमेरिकी डलर खर्चिदै प्रदर्शन गर्न लगाएका थिए ।

फैक बोलकियाको फुटबल करियर 

११ वर्षको उमेरमा साउथह्याम्प्टनको युथ एकेडेमीबाट फुटबल सुरु गरेका बोलकियाले करिब २ वर्ष त्यस एकेडेमीमा विताउँदा पनि व्यावसायिक सम्झौता भने पाएनन । त्यसपछि रिडिङ एफसी र आर्सनलको एकेडेमीबाट प्रशिक्षण गरेका बोलकिया चेल्सीसँग २ वर्षको सम्झौतामा आबद्ध भए । चेल्सीसँगको सम्झौतामा केहि समय बाँकी हुँदै उनले पछि लेस्टरसँग तीन वर्षको सम्झौता गरे । उनी हाल लेस्टरको रिजर्भ टोलीबाट खेल्दै छन् र प्रिमियर लिग डेब्युको प्रतिक्षामा छन् ।

अमेरिकामा जन्मिएका बोलकिया अमेरिका र ब्रुनईको राष्ट्रिय टोली दुवैबाट खेल्न योग्य रहेपनि उनले ब्रुनई नै रोजे । १९ वर्षको उमेरमा उनले ब्रुनईको राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पनि पाएका छन् ।(एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्