भवन खोज्दै प्रदेश सरकार



धनगढी, ५ माघ
प्रदेश प्रमुखको नियुक्ति र धनगढीलाई सात नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु गरिएको छ ।

क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल नेतृत्वको टोलीले बिहीबार धनगढीमा रहेको क्षेत्रीय स्वास्थ्य तालीम केन्द्र, कृषि, क्षेत्रीय वन, क्षेत्रीय सिँचाइ निर्देशनालय, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय, सहकारी प्रशिक्षण तथा डिभिजनलगायतका कार्यालयको निरीक्षण गरी भवनको वस्तुस्थितिबारे जानकारी लिएको छ ।

प्रदेश प्रमुखको निवास, कार्यालयका साथै शपथ ग्रहण गरिने स्थानको टुंगो आजसम्म लगाई सक्ने र प्रदेश सरकार मातहतका लागि चाहिने थप कार्यालयको टुंगो पनि केही दिनभित्रै लगाई सक्ने क्षेत्रीय प्रशासक पौडेलले बताए ।

अहिलेलाई धनगढीमा उपलब्ध भवनको प्रयोग गर्ने र पछि प्रदेश सरकार आफैँले व्यवस्थापन गर्ने पनि पौडेलले जानकारी दिए ।

प्रदेश सरकारअन्तर्गत गठन हुने मन्त्रालयका साथै मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सचिवालय, मुख्य सचिवको कार्यालयका साथै निवासको प्रयोजनका लागि ठूलो संख्यामा भवनलगायतका संरचना आवश्यक पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्