प्रहरी कार्यालय पुनःनिर्माणपछि सेवामा सुधार



३ माघ,२०७४

इलाम, नयाँ संरचना अनुसार प्रदेश नं १ नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले प्रहरी कार्यालय पुनःनिर्माण गरिएपछि प्रहरीले प्रदान गर्ने सेवामा सुधार भई नागरिक तथा प्रहरी सेवामा समेत आत्मबलसमेत थपिएको बताउनुभएको छ ।

नेपाल–भारत सीमाको पशुपतिनगरमा पुनःनिर्माण गरिएको इलाका भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अब कार्य क्षमतामा पनि सुधारको महसुस गराउने छौं ।”  आधुनिक प्रविधि प्रयोगले अनुसन्धानको विधिमा सजिलो भई नागरिकमा परिवर्तनको महसुश हुने धारणा राख्नुभयो ।

उनले अपराधको स्वरुप बदलिए सँगै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको बताउनुभयो । सामाजिक दबाबको भरमा अनुसन्धानलाई कसैप्रति केन्द्रित गर्नु नहुने धारणा समेत उनले व्यक्त गरे ।

२०६० मा क्षतिग्रस्त भएको पशुपतिनगरको भवन निर्माणका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट एक करोड ६४ लाख ३१ हजार ८४० प्राप्त भएकामा रु एक करोड ४३ लाख ४० हजार ८१९ मा इलाका भवन निर्माण सम्पन्न गरिएको प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।

भवनमा सुविधायुक्त पुरुष तथा महिला हिरासत कक्ष, गार्ड कक्ष, प्रशासनिक कक्ष, कार्यालय प्रमुख, अपराध अनुसन्धान कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, बैठक कक्ष, सञ्चार कक्षलगायत १४ वटा कोठा रहेको जानकारी समेत दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्