विश्वकप क्रिकेट छनोट खेल तालिका सार्वजनिक



काठमाडौं, २ माघ

एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०१९ मा हुने विश्वकप क्रिकेटको लागि छनोट खेलको तालिका सार्वजनिक गरेको हो ।

आईसीसी सार्वजनिक गरेको  तालिका अनुसार छनोट प्रतियोगिता मार्च १ देखि २५ हुनेछ । वेष्ट इण्डिजसँगै, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी छनोट खेलको समूह ‘ए’ मा रहेका छन् । यस्तै समुह ए मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को विजेता पनि रहने छ ।

सार्वजनिक तालिका अनुसार अफगानिस्तान, जिम्बावे, स्कटल्याण्ड , हङकङ र विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता पनि समूह ‘बी’ मा रहनेछ ।

डिभिजन २ नामिवियामा आगामी फेब्रअरी ८ देखि शुुरु हुँदैछ । डिभिजन २ मा आयोजक नामिवियासँगै नेपाल, युएई, केन्या, ओमन र क्यानाडा रहेका छन् । नेपाल, नामिविया, केन्या र युएई आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट घटुवा हुँदै डिभिजन २ मा झरेका छन् ।

क्यानाडा र ओमन भने डिभिजन ३ को विजेता र उपविजेता बन्दै डिभिजन २ मा उक्लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्