कप्तान कोहलीको उत्कृष्ट शतक



काठमाडौं, २ माघ

क्रिकेट टोलीको भारतीय कप्तान विराट कोहलीले अघिल्लो दिनको लय जारी राख्दै दोस्रो टेस्टको तेस्रो दिन शतक पूरा गरेका छन् । सोमबार कोहलीले भारतको अन्तिम विकेटका रूपमा पेभेलियन फर्कनुअघि २१ औं शतक प्रहार गर्दै १ सय ५३ रन जोडे । भारत पहिलो इनिङ्समा ३ सय ७ रनमा अलआउट भयो, जुन दक्षिण अफ्रिकाको पहिलो इनिङ्सको स्कोरभन्दा २८ रन कम हो ।

दक्षिण अफ्रिका दोस्रो इनिङ्समा ब्याटिङ गर्दै ६८–२ को स्थितिमा छ । चिया सत्रलगत्तै चट्याङसँगै वर्षा भएपछि खेल रोकिएको थियो । समग्रमा ८८ रनको अग्रता बनाएको दक्षिण अफ्रिकाले सुरुआती २ विकेट सस्तैमा गुमायो । जसप्रित बुमराहले एडेन मारक्रम र हसिम अमलालाई १–१ रनको स्थितिमा एलबीडब्लू धरापमा पारे । त्यसयता डिन एल्गर र एबी डी भिलियर्सले ६५ रनको साझेदारी गरिसके ।

पहिलो सेसनमै शतक पूरा गरेका कोहलीले २ सय १७ बल खेल्दै १५ चौका प्रहार गरे । उनलाई रविचन्द्रन आश्विन (३८) ले राम्रो साथ दिए । यी दुईले सातौं विकेटमा ७१ रनको साझेदारी गरे । हार्दिक पाण्डेय १५ रनमा छँदा भेर्नोन फिलान्डरको सीधा थ्रोमा रनआउट भएपछि आश्विन ब्याटिङमा आएका थिए । आश्विनको विकेट गएपछि अन्य ब्याट्सम्यान आउट हुँदा कोहली दबाबमा परे । दक्षिण अफ्रिकाका लागि मोर्ने मोर्केलले ४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्