रातदिन डेरा खोज्दै नयाँ सांसद



काठमाडौं, २ माघ

भर्खरै सम्पन्न निर्बाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित ६६ जना नयाँ सांसदमध्ये अधिकांश यतिवेला काठमाडौंमा डेरा खोज्ने क्रममा छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित १६५ मध्ये ९९ जना पुरानै अनुहार छन् भने ६६ जना पहिलोपटक निर्वाचित भएका हुन् ।

१० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनबाट विजयी भएकाहरू डेरा खोज्न, गृहजिल्ला आवतजावत गर्न तथा कार्यकर्ता भेटघाटमै व्यस्त छन् । एमालेबाट ४०, माओवादी केन्द्रबाट ११, कांग्रेसका ३, संघीय समाजवादी फोरमबाट ७,राजपाका ४ र राप्रपाबाट १ जना पहिलोपटक सांसद बनेका छन् । नयाँ सांसदमध्ये काठमाडौंमा घर नभएकाहरू डेरा खोजिरहेका छन् ।

डेरा खोज्ने सांसदमा एमालेका बढी एमालेबाट प्रत्यक्ष निर्वाचित भएका सांसदहरूमध्ये ४० जना नयाँ अनुहार हुन् । उनीहरूमध्ये अधिकांश यसअघि आफ्नो गृह जिल्लामै बस्ने गरेका थिए । प्रतिनिधिसभामा निर्वाचित भएपछि काठमाडौं बस्नुपर्ने भएकाले अहिले धेरैले डेरा खोजिरहेका छन् ।

दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेकै राजबहादुर बुढा पनि डेराकै खोजीमा छन् । नवनिर्वाचित सांसद बुढा भन्छन्, ‘अब डेरा खोज्ने क्रममा छु । अहिले लोकन्थलीमा भाइहरूसित बसिरहेको छु । संसद् चलिनसकेकाले निर्वाचन क्षेत्र जाने आउने क्रम चलिरहेको छ ।’

स्याङ्जा २ बाट निर्वाचिन एमाले सांसद पद्मा अर्यालले आफू डेरा खोज्नेक्रममा रहेको बताइन् । ‘संसद् अधिवेशन आह्वान हुन अब राष्ट्रिय सभाकै चुनाव कुर्नुपर्ने भयो । पहिलोपटक निर्वाचित सांसद भएकाले पनि अब कम्तीमा पाँच वर्षका लागि डेरा त खोज्नैपर्‍यो । अहिले भाइहरूसँग एड्जस्ट गरेर बसिरहेकी छु ,’ उनले भनिन् ।

माओवादी केन्द्र, कांग्रेसदेखि समाजवादी फोरम, राजपाबाट पहिलोपटक संसद् सदस्यमा निर्वाचित भएका अधिकांश नयाँ सांसद डेराकै खोजीमा छन् ।

रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस सांसद देवप्रसाद तिमल्सिना यतिबेला गृहजिल्लामै छन् । काठमाडौं आए लगत्तै डेरा खोज्ने काम सुरु हुने उनले बताए । काठमाडौंमा आफ्नो घर छैन । आफन्तको घर त छ तर आफन्तकोमा बसेर सधैँ नहुने । काठमाडौं आएपछि डेरा खोज्नुपर्ला,’ उनले भने,‘ अहिले त संसद् नचलेकाले निर्वाचन क्षेत्रमै छु । पहिले ६०१ सांसद हुँदा पनि बसेकै थिए । अब त सांसद संख्या घट्यो डेरा पाइएला नि ।’

बाजुरा क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका लालबहादुर रावल पनि संसद्मा पहिलोपटक प्रतिनिधित्व गर्दै छन् । उनका छोराछोरी भने यसअघि नै कीर्तिपुरमा बसेर अध्ययन गरिरहेकाले उनले डेरा खोज्नुपरेन । भन्छन्,‘छोराछोरी पहिले नै यतै बसेर पढ्न कीर्तिपुरमा डेरा लिएर बस्थे । अहिले म छोराछोरीसँगै छु । डेरामै बस्ने भएकाले समय– समयमा खोज्नुपर्ला । तर, तत्काल समस्या छैन ।’

डेरा पाइसकेका सांसद संसद्बारे बुझ्दै डेरा पाइसकेका माओवादी केन्द्रका जुम्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गजेन्द्र महत भने सिनामंगलमा बसिरहेका छन् । उनी भन्छन्,‘सिनामंगलमा डेरा लिएर बसेको छु । जिल्लास्तरको कामसँगै यतिबेला म पुरानो संसद्को नियमावली, संसदीय गतिविधिबारे अध्ययन गरिरहेको छु ।’

पहिलोपटक प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित अन्य सांसदहरू काठमाडौंमा बसोवासको प्रबन्ध गर्न व्यस्त छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भइनसकेकाले समानुपातिकबाट संसद्मा पहिलोपटक प्रतिनिधित्व गर्ने सांसद संख्याको टुंगो लाग्न बाँकी छ । यो समाचार नयाँ पत्रिका दैनिकले लेखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्