देशभरि माघेसंक्रान्ति मनाइदै



काठमाडौं, १ माघ

हिन्दु धर्मग्रन्थ अनुसार आजको दिनबाट  सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले  माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । दिन भन्दा रात छोटा हुँदै जाने भएकोले पनि साउन १ गतेदेखि शुरु भएको दक्षिणायन पूर्ण अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुँदै जान्छ । त्यसैले हिन्दु धर्मग्रन्थ अनुसार उत्तरायण शुरु हुने दिन गरिने स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

आजको दिन नदी किनारका मठ मन्दिर भएका पवित्र तिर्थस्थानहरु   देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, अरुण, बरुण, तमोर, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायतमा भव्य मेला सहित माघ स्नान गर्ने भक्तजनको ठुलो भीड लाग्छ । आजको दिन स्नान गरे सबै रोग पखालिने धार्मिक विस्वास रहेको छ । छिमेकी देश भारतमा पनि आजको दिनलाई बिशेस रुपमा हेरिन्छ  । गंगा लगायतका नदीहरुमा स्नान गर्नेहरुको ठुलो भिड रहन्छ  ।

सूर्य उत्तरको बाटो हिँड्ने समय माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म भएकाले नै यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमले  जानकारी दिए ।  त्यसैले पनि यतिबेला गरिने  स्नान, दान, जप, तप, तीर्थ, ब्रतलाई बढी उत्तम मानिएको छ  ।  उत्तरायणमा भएको जन्म र मरणलाई धेरै उत्तम मानिन्छ  ।  प्रयागमा गई स्नान गरे जन्म र मरणको दुःखमा पर्नु नपर्ने हेमाद्रि, पुराण लगायत ग्रन्थमा समेत बिशेस रुपमा उल्लेख गरिएको छ ।  तराईवासीले माघ १ लाई ‘नहान्’ अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।

धार्मिक विश्वास
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्व समेत पर्दछ ।

पुण्य प्राप्त
आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, ब्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

त्रिदोष नाश हुने
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

तिलको तेलको विशेषता
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।

मृत्युलाई उत्तम
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

गलत हल्ला
यसवर्ष शुक्र अस्त भएकाले माघे संक्रान्ति मनाउनु हुन्न भन्ने हल्ला गलत रहेको समितिले जनाएको छ । यो पर्व नित्य कर्म भएकाले शास्त्रीयरुपमै मनाउन सकिने अध्यक्ष गौतमले बताए ।  गत मंसिर २९ गते पूर्वमा अस्ताएको शुक्र माघ १८ गते पश्चिमबाट उदाउने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्