इजरायली प्रधानमन्त्री भारतमा



नयाँ दिल्ली, ३० पुस : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुग्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ महिना अघि इजरायलको भ्रमणमा जानुभएको थियो । मोदी इजरायलको भ्रमणमा जाने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्थ्यो ।

उहाँको भ्रमणको छ महिनापछि उहाँको आमन्त्रणमा इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको औपचारिक भ्रमणमा आउनुभएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

नेतान्याहु पनि इजरायलको प्रधानमन्त्रीको रुपमा गएको २५ वर्षपछि पहिलो पटक भारतको भ्रमणमा आउनुभएको हो । यसअघि करिब २५ वर्षअघि इजरायली प्रधानमन्त्री एरियल स्यारोनले भारतको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री नेतान्याहुको भ्रमणमा दलमा इजरायलको कृषि, अर्थ, सूचना प्रविधि, प्रतिरक्षालगायतको क्षेत्रका १३० जना सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

उहाँसँग आइतबार अपरान्ह भारतीय विदेशमन्त्री सुषमा स्वराजले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । उहाँहरुको सम्मानमा सोमबार बिहान भारतीय राष्ट्रपति भवनमा उहाँहरुको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री नेतान्याहुले यस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दलगायतसँग द्विपीक्षीय भेटवार्ता पनि गर्नुहुने भएको समाचारमा जनाइएको छ ।

यस भ्रमणका क्रममा भारत र इजरायलबीच कृषि, सूचना प्रविधि र आर्थिक क्षेत्रमा केही सहमति एवम् सम्झौताहरु पनि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्