ट्युनिसिया सरकारद्धारा सामाजिक पुनर्संचरनाको घोषणा



ट्युनिस, ३० पुस : ट्युनिसियाको सरकारले एकहप्ता लामो आन्दोलनपछि शनिबार सामाजिक पुनर्संरचनाको घोषणा गरेको छ ।

स्वास्थ्य सेवासम्वन्धी बजेट बढाउने र सरकारका अरु पनि विभिन्न सेवामा सुधारगरी सामाजिक पुनर्संरचना गर्ने घोषणा सरकारले गरेको हो ।

सामाजिक मामिलामन्त्री मोहम्म ट्रबेल्सीले स्वास्थ्य सेवा तथा सामाजिक पुनर्संरचनाका कार्यक्रमहरु तयारी अवस्थामा रहेको पत्रकारहरुलाई जानकारी दिनुभयो ।

केही महिनामै स्वास्थ्य सुधार कार्यक्रम कार्यान्वयन भइसक्ने सुनिश्चित गरिएको पनि उहाँले बताउनु भयो ।
राष्ट्रपति बेजी कैड इस्सेब्सीले राजनीतिक दल, विभिन्न संघ संगठन र रोजगारदाताहरुसँगको परामर्शपछि सरकारले सामाजिक पुनर्संरचनाको घोषणा गरेको हो ।

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रतिदिन बढ्दो मात्रामा रहेको भनिएको गरिबी र बेरोजगारीका विरुद्ध गत केहीदिन देखि आन्दोलन भईरहेको थियो । आन्दोलनका क्रममा सयौं प्रदर्शनकारी पक्राउ परेका थिए ।

“यो निकै ठूलो कानुनी परियोजना हो, पछि संसदमा पेस हुनेछ र अर्को हप्ता छलफल हुनेछ,” नाम नबताउने सर्तमा एकजना सरकारी अधिकारीले भने ।

अघिल्ला दिनहरूको तुलनामा हाल आन्दोलन थप आक्रमक र हिंसात्मक हुँदै गएपछि सरकारले सामाजिक सुधारको योजना भन्दै यी कार्यक्रम घोषणा गरेको हो ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटक पटक भएका झडपपछि सयौं आन्दोलनकारीलाई गिरफ्तार पनि गरिएको समाचारमा जनाइएको छ ।

उनीहरूलाई चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेको अभियोग लगाइएको थियो । तर प्रदर्शनकारीहरुले भने आफूहरुले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन जारी राखेकोमा सरकारले धरपकड गरेको बताएका छन् ।

प्रदर्शनकारीहरूले ठूलो मात्रामा श्रोत साधनको क्षति गराएका थिए भने प्रदर्शनकारीहरूलाई तितरवितर पार्न र आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले बेला बेलामा व्यापक मात्रामा बल प्रयोग गर्ने गरेको थियो ।

सरकारले उक्त कार्यक्रमहरुपश्चात यहाँको प्रदर्शन रोकिने अनुमान गरेको छ । तर यस विषयमा प्रदर्शनकारीहरुको भने केही भनाई आएको छैन ।

प्रतिक्रिया दिनुहोस्