दुवै हात छैन तैपनि सपना जस्तै छ सपनाको जीवन, जन्मँदै दैवले ठग्यो तर, भाग्यले ठगेन



३० पुस : सपना पोखरेलको दुईटै हात छैन । जन्मँदै दैवले ठग्यो । तर, भाग्यले ठगेन । किन ठगेन भने भाग्य बनाउने काम कर्मले गर्छ । सपनाले कर्म गरिन्, भाग्य बन्यो ।
प्युठानको सदरमुकाम खलंगा बजारमा छ सपनाको किराना पसल र च्याउ खेती । दुवै हात छैन, औंलाहरु छैन तैपनि अरुले झैं मजासँग गरी खाएकी छिन् ।
सपनाका बाआमालाई लाग्थ्यो, छोरीले भविष्यमा गरेर खान सक्दिन । सपनाको अवोध वाल मष्तिष्कले चाहिँ दुवै हात नभए पनि म अरुभन्दा के कम भन्थ्यो ।
तैपनि, सपनाले दुवै हात नभएकोमा अनेक प्रताडना सहन पर्थ्यो, भनाई सुन्नुपर्थ्यो । हात नभएकोमा दुःख लाग्थ्यो तर दुःख मानेर जीवन चल्दैन । जीवन भनेको निरन्तर आशा हो, निरन्तर कर्म हो ।
बा धेरै रक्सी खान्थे, आमा विरामी थिइन् । परिवारमा दुखैदुख थियो । सबैभन्दा धेरै दुख थियो हात नभएको कारणले ।
हात नभएकोमा अपमान गर्नेहरु पनि थिए । अनि, सहयोग गर्नेहरु पनि थिए । समाजमा नकारात्मक भाव र परिवेश हुन्छ नै, सकारात्मक भाव र परिवेश झन धेरै हुन्छ ।
दस वर्षको उमेर हुँदा सपनालाई एउटा परिवारले काम गर्न राख्यो । हात नभए पनि काम गर्न राख्नु सामान्य कुरा थिएन । र, त्यो परिवारले सपनालाई धर्मपुत्री बनायो ।
सपनालाई साथ दिने ती महान बुवा आमा हुन् गोपालप्रसाद श्रेष्ठ र ज्ञानुकुमारी श्रेष्ठ ।
सपना बढिन्, पढिन्, ठूलो भइन् । दुवै हात थिएन, गोपाल र ज्ञानुलाई चिन्ता लाग्यो । बिहे गरिदिए । अनि एउटा किराना पसल पनि खोलिदिए ।
एउटा छोरा जन्मियो ।
तर, पतिलाई रक्सीको लत रहेछ । पतिको रक्सीको लत पूरा गर्न पसल रित्तिन थाल्यो । खाने मेलो त्यही पसल हो, पसल नै रित्तिन थालेपछि पर्नसम्म पर्यो आपत सपनालाई । त्यसैले पतिलाई काम गर्न भारत पठाइन् ।


पसलमा सपना त्यसै बस्दिनथिन्, पढ्थिन् पनि । २०६६ सालमा एसएलसी पास गरिन् ।
ईच्छा त थियो कलेज पढ्ने, राम्रो जागिर खाने । तर, गरिबीले दिएन भन्छिन् । साथमा छोरा पनि थियो । कसरी पढ्ने ?
सपनाले कलेज पढ्ने सपना त्यागेर व्यापार व्यवसायमै आफूलाई केन्द्रीत गर्न थालिन् । जिल्ला अपांग सेवा संघले चलाएको च्याउखेति तालिममा सहभागी भइन् । आफै च्याउ खेति गर्न थालिन् ।
अहिले सपना ३६ वर्षकी भइन् । छोरा ६ कक्षामा पढ्छ । किराना पसल चलाउँछिन्, च्याउखेति गर्छिन् । पसलको भाडा तिर्छिन् मासिक एक हजार रुपैयाँ । नजिकै आफ्नो घरमा च्याउ खेति गर्छिन् ।
र, यी सबै काम आफै गर्छिन् । औंला नभएर के भो ? आँट छ । हातका औंला नभएपछि त्यसको विकल्पमा उनले काम गर्ने जुक्ति निकालिन् । वास्तवमा उनलाई प्रकृतिले पनि सिकायो र अभ्याशले पनि सिकायो । अन्य सपांग झैं काम गर्छिन् ।


उनि भन्छिन्, ‘मैले काम गरेका पहिलो पटक देखेकाले अनैठो मानेर हेर्छन ।’
उनलाई पसल ठूलो बनाउन मन छ, धेरै चल्ती हुने ठाउँमा सार्न मन छ । च्याउखेति विस्तार गर्न मन छ । मन छ तर धन छैन । अहिले जे गरिरहेकी छिन्, यही कामबाट धन जुटाउन लागिपरेकी छिन् ।
उनी अहिले परिवार पालेर मासिक आठ हजार रुपैयाँ वचत गर्छिन् ।
हजुर, आठ हजार रुपैयाँ ! सपांग मानिसका लागि आठ हजार रुपैयाँ ठूलो रकम होइन होला तर सपनाका दुवै हात छैनन् अनि मासिक आठ हजार वचत गर्छिन् ।
यो विलक्षण सफलता हो ।
सुरुमा पसल खोल्दा कस्तो थियो ? सपना सम्झन्छिन्, ‘दुवै हात नभएकीले पसल गरेको भनेर हेर्नेको लाइन नै लागेको थियो ।’
हात नभएर मानिसले दुःख पाउने होइन, सपना भएन भने चाहिँ दुःख पाउँछ । सपना छ अनि सपना पूरा गर्ने जाँगर र अठोट छ भने दुःख पाइँदैन । उदाहरण हुन् सपना । नाम पनि सपना अनि जीवन पनि सपनाजस्तो ।
अब सपनाको सबैभन्दा ठूलो सपना के हो ? सपना भन्छिन्, ‘छोरालाई पढाउने, बढाउने र ठूलो मानिस बनाउने ।’
सपना भन्छिन्, ‘मेहेनत गर्नुपर्छ, कर्म गर्नुपर्छ, संघर्ष गर्नुपर्छ, संघर्ष गर्न डराउन हुँदैन ।’ साभार: हाम्रो कथा डट कम

प्रतिक्रिया दिनुहोस्