औद्योगिक पार्क निर्माणका लागि चिनियाँ उच्च टोली



काठमाडौँ, ३० पुस : झापाको दमकमा स्थापना हुने भनिएको औद्योगिक पार्क निर्माणका लागि चिनियाँ उच्च टोलीले  सो क्षेत्रको स्थलगत अवलोकन गरेको छ । चीनको ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रका उपमहासचिव लिउ रुपेङ नेतृत्वको टोलीले औद्योगिक पार्क निमार्णस्थलको अवलोकन गरेको हो ।

दमक नगरपालिकाका अनुसार उक्त औद्योगिक पार्क निर्माणका लागि अवलोकन गर्न अहिलेसम्मकै उच्चस्तरीय टोली दमक आएको छ । दमक नगरपालिका कार्यालयको अनुसार ३ खर्व ३३ अर्व रुपैयाँको चिनियाँ लगानीमा उक्त पार्कको निर्माण हुन लागेको छ । दमक नगरपालिका वडा नं १० मा २२ सय विगाह भन्दा बढी जग्गामा बन्ने भनिएको औद्योगिक पार्क निर्माणका लागि १६ सय विगाह जग्गा अधिग्रहणको क्रममा छ । उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन तयारीको क्रममा रहेको बताइएको छ । उक्त परियोजनाको निर्माण चिनियाँ सरकारले गर्नेछ ।

अहिले आएको उच्चस्तरीय टोलीले अध्ययन गरेर गइसकेपछि अन्तिम सहमतिमा हस्ताक्षर हुने नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने उक्त औद्योगिक पार्क निर्माणका लागि सात महिनाभित्रमा शिलान्यास गरेर परियोजनाको काम सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्