विश्व युवा शान्ति सम्मेलन शुरू



काठमाडौँ, ३० पुस : विश्वभरका युवाका साझा समस्याबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको ‘विश्व युवा शान्ति सम्मेलन–२०१८’ हिजोदेखि शुरू भएको छ ।

सम्मेलनमा नेपालसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा र जापानलगायत विभिन्न ३३ राष्ट्रका १३० जना युवा अभियन्ताको सहभागिता रहेको छ ।

युवा संसद् नेपालले आयोजना गरेको सो सम्मेलनको उद्घाटन गर्दै अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले न्यायमूलक समाज, दिगो विकास, लोकतान्त्रिक शासन र समानता युवाको सरोकारको विषय बन्नुपर्छ भन्नुभयो ।

युवा संसद् नेपालका संयोजक दिवाकर अर्यालले सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता, युवा सहभागिता र शान्तिका लागि सांस्कृतिक कूटनीति लगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

अभिनेता राजेश हमाल, सिएनएन सुपर हिरो पुष्पा बस्ने, एपिवान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्री, शान्ति अभियन्ता पीताम्बर भण्डारी, युवा वैज्ञानिक जितेन्द्र उपाध्याय, युवा अभियन्ताहरु सुलोचना सिग्देल, वासु गौतम र हिक्मत थापालाई ‘युवा अभिप्रेरणा सम्मान–२०१८’ प्रदान गरिएको थियो । आइतबारसम्म चल्ने सम्मेलन काठमाडौँमा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्