प्रविधिको विकासले खोलाको पानी गाउँमा



गुल्मी, ३० पुस : खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउँबस्तीमै पुगेपछि गुल्मीको जिमी र नरम गाउँका स्थानीयलाई सुविधा पुगेको छ ।

गाउँमा पुगेको खानेपानी सुविधासँगै स्थानीयले तरकारी खेतीमा सिँचाइ गरेर आम्दानी गर्न शुरु गरेका छन् ।

नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका गुल्मी दरबार गाउँपालिका– ४ वीरबासको जिमी र छत्रकोट गाउँपालिका– ३ हर्दिनेटाको नरम गाउँका १६३ बढी घर परिवारलाई घरघरमै पानी पुगेको हो । रिन्युएबल वर्डको आर्थिक एवं आइडिइ र सप्रोस नेपालको प्राविधिक सहयोग एवं नवप्रभात युवा संघको सामाजिक परिचालनमा गाउँमै खानेपानी लागिएको हो । गाउँमा पुगेको खानेपानीलाई स्थानीयले मिटर प्रविधि जडान गरेर घरघरमै धारा निर्माण गरी वितरण गरेका छन् ।

नजिक मुहान नभएकै कारण गाउँलेलाई घरघरमै मिटर जडान गरेर खानेपानीको सुविधा लिने र सिँचाइ गरेर तरकारीसमेत उत्पादन गर्ने कल्पनासम्म नभएको वीरबासको जिमीकी माया रेश्मीले बताउनुभयो । “यसरी घरघरमै पानीको धारा आउला भन्ने त हामीलाई कुनै कल्पना पनि थिएन”, उहाँले भन्नुभयो, “अहिले घरमै पानी आएपछि घरको सरसफाइदेखि स्कुल जाने केटाकेटीलाई समेत निकै सजिलो भएको छ ।” यसअघि गाउँलेलाई एक गाग्री खानेपानी लिनकै लागि डेढ घण्टा टाढा पुग्नुपर्ने बाध्यता हटेको रेश्मीले बताउनुभयो ।

वीरबासको बाहुन खोलाको पानी सोलार प्रविधिबाट ६१ मिटर उचाइमा दैनिक १० हजार लिटर पम्पिङमार्फत  जिमी गाउँका १४ घरधुरीमा र १६ हजार लिटर पानी जिमीकै ७१ घरधुरीमा सामुदायिक धारा मार्फत वितरण गरिएको छ । त्यस्तै छत्रकोटको हर्दिनेटामा पनि चनौटी खोलाको पानी २०७ मिटर उचाइमा दैनिक ३० हजार ५३० लिटर पानी पम्पिङ ७८ घरधुरी र एक विद्यालयमा एक घर एक धारा प्रणालीमा ७८ घरधुरीमा वितरण गरिएको रिन्युएबल वर्डका क्षेत्रीय परियोजना अधिकृत गंगाप्रसाद आचार्यले बताउनुभयो ।

योजना व्यवस्थापनका लागि उपभोक्ता आफैँले समिति गठन गरेर योजना मर्मतका लागि प्रतिघर रु एक हजार र पानी खपत गरेका आधारमा थप रकम संकलन गर्ने गरी संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । गाउँमा पानी लान स्थानीय वडा, गाउँपालिका, परियोजना, स्थानीय जनश्रमदानसहित दुवै योजनामा झण्डै रु ९२ लाख खर्च भएको स्थानीय नवप्रभात युवा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्