छोराको लागि एक्लै आठ किलोमिटर बाटो खन्ने पिता



 

२८ पुस, २०७४, नयाँ दिल्ली

छिमेकी भारतको ओरिसा राज्यका  एक सामान्य गाउँलेले गल र पिकको माध्यमबाट एक्लैले आठ किलोमिटर लामो धुले सडक निर्माण गरेका छन् ।

आफ्ना स्कुले छोराहरु बारम्बार घर आउन सकुन् भनेर उनी एक्लैले सो बाटो निर्माण गरेको बताइएको छ । उमेरले ४५ पुगेका जालन्धर नायकका  तीन छोराहरु पढिरहेको आवासीय विद्यालय उनी बस्ने गाउँ भन्दा १० किलोमिटर टाढा छ । बाटो नहुँदा छोराहरुले घर आउन पाँचवटा पहाड पार गर्नुपर्ने बाध्यता थियो ।

नायकले बिगत २ बर्षको कठोर श्रम पछि बाटो निर्माण सम्पन्न गरेका हुन् । जसको लागि उनी बिहानै उठेर आफ्ना घरेलु सामाग्रीसहित बाटो खन्न निस्कने गर्दथे । प्रत्येक दिन उनले ढुंगा काट्न र शिलाखण्ड हटाउन आठ घण्टा भन्दा बढी समय खर्चने गरेका थिए ।

सडक निर्माण पछि बिदामा वा प्रत्येक साता आफ्ना छोराहरु घर फर्कने विश्वास लिएको संवाददाताहरुलाई  बताएका छन् । अब सडकको बाँकी कार्य सरकारले पूरा गर्न लागेकोमा आफू अत्यन्तै खुसी भएको नायकले बताएका छन् । उनले सरकारी अधिकारीलाई गाउँमा विजुली र खानेपानीको सेवा उपलब्ध गराइदिन अनुरोध बताईएको छ ।

स्थानीय अधिकारीहरुलाई समेत जानकारी नदिईकन बाटो खनेका नायकको बारेमा स्थानीय समाचार बुलेटिनमा भर्खरै समाचार प्रकाशन भएपछि मात्रै उनीहरुले थाहा पाएका थिए ।

‘सडक निर्माण गर्दा उनले एउटै पनि रूखलाई हानी नर्गन अपनाएको सचेतनाले म निकै नै प्रभावित भएको छ,’ नायकको सर्वप्रथम अन्तर्वार्ता लिएका स्थानीय पत्रकार सिवशक्ति विश्वाललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । नायकाले बनाएको सडक कार चलाउनसमेत योग्य रहेको पत्रकार विश्वालले बताए ।

राष्ट्रिय सञ्चारमाध्यमहरुले नायकलाई दशरथ माझीसँग तुलना गरिरहेका छन्, जसले बिहारको गाउँलाई नजिकैको शहरसँग जोड्न एक्लैले पहाड फोरेर सडक निर्माण गरेका थिए ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्