कलाकार र पत्रकारलाई योगेशबाट ५ लाखको अक्षयकोष



काठमाडौं, २७ पुस

ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लाको संगीत र पत्रकारिता क्षेत्रको विकासमा पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

भट्टराईले निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद दिन राजधानीमा शनिबार आयोजित कार्यक्रममा सो कोषको घोषणा गरेका हुन् ।

ताप्लेजुङ संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका संगीत प्रेमीलाई सोही कोषमार्फत सहयोग गर्ने घोषणा पनि उनले गरेका छन् ।

उनले संगीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राखेका हुन् । जिल्लाको गीत संगीत क्षेत्रको विकासका लागि स्थापना भएको यो नै पहिलो कोष हो ।

त्यस्तै पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि दुई लाख रुपैयाँको अक्षय कोष घोषणा गरेका छन् । जिल्लास्थित पत्रकारसँग सम्बन्धित संस्था तथा पत्रकार महासंघमार्फत पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी उनले दिए ।

पत्रकारितालाई व्यवसायसिक बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि महत्वपूर्ण भएको उल्लेख गर्दै कोष स्थापना गरेको उनले बताए । कोषको रकम क्रमश बढाउने योजना समेत रहेको छ ।

कार्यक्रममा भट्टराईले अब देश विकासका लागि आर्थिक समृद्धिको अभियान छेड्नुपर्ने उनले दोहोर्याए । ताप्लेजुङमा विकासका हजारौं सम्भावना रहेको औंल्याउदै अब आफूले अभियानका रुपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्