गोलको खुसि साट्दा कोस्टालाई रातो कार्ड



काठमाडौं, २७ पुस

 एट्लेटिकोमा पुनरागमनपछि दुई खेलमा प्रभाव छाड्न सफल भएका कोस्टा अर्को खेलमा भने प्रतिबन्धमा हुने भएका छन् । एट्लेटिको फर्किएपछि लगातार दोस्रो खेलमा गोल गरेका कोस्टाले शनिबार समर्थक माँझ गोलको खुसी मनाउँदा रातो कार्डको सामना गरेका छन् ।

चेल्सीबाट समरमा एट्लेटिको म्याड्रिड पुगेका डिएगो कोस्टाले खेल्नका लागि जनवरी विन्डोसम्म प्रतिक्षा गर्नु परेको थियो । एट्लेटिको माथिको कारवाही अवधि सकिएपछि मात्र कोस्टासँगको सरुवा औपचारिक रुपमा पुरा भएको थियो ।

चेल्सी छाडेपछि एट्लेटिकोबाट पहिलो पटक सुरुआत गरेका कोस्टाले ६८ औं मिनेटमा ‘क्लिन फिनिस’ गर्दै गोल गरेपछि विज्ञापनको बोर्ड नाघेर समर्थक माँझ पुगेका थिए । त्यसको ५ मिनेट अघि कुहिनोले विपक्षी खेलाडीलाई हानेपछि पहिलो पहेलो कार्ड पाएका कोस्टाले उक्त गोलपछि खुसी मनाउँदा दोस्रो पहेलो कार्डको सामना गर्दै बाहिरिनु परेको थियो ।

१८ औं मिनेटमा एन्जेल कोरियाको गोलमा अग्रता लिएको एट्लेटिकोले घरेलु मैदानमा गेटाफेलाई २–० ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्