कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ– राष्ट्रपति ट्रम्प



वासिङ्टन, २७ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताउनुभएको छ । हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सो धारणा राख्नुभएको हो ।

उहाँले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रुपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।बिगत लामो समयदेखि नै सत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता भएको हो । यो वार्तापछि वातावरण निर्माण भएकोले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह गर्नुभएको हो ।

मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ । दुई वर्षपछि भएको भए पनि मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ ।

बुधबार ह्वाइट हाउसमा आयोजना गरिएको नर्वेजियन प्रधानमन्त्रीसहितको संयुक्त पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– सो वार्तामा धेरै सकारात्मक कुराकानी भएका छन् र आगामी दिनका लागि पनि सो वार्तामा नयाँ विषयवस्तुहरुले प्रवेश पाएका छन् ।

उहाँले भन्नुभयो– कोरियाली प्रायद्वीपमा जारी रहेको द्वन्द्वको समाधानका लागि शान्तिपूर्ण समाधान आवश्यक छ र यसको विकल्प शान्ति वार्ता नै हो ।

मङ्गलबार भएको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाई छ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा पनि सो वार्तामा प्रसंग उठेको बताइएको छ । तर यस विषयमा कुनै सहमति हुने वा केही एजेण्डा पास हुने काम भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्