नुवाकोटको गोरु जुधाउने जात्राको वृत्तचित्र निर्माण



काठमाडौँ, २७ पुस

करिब सय वर्ष अघिदेखि नुवाकोटको तारुकामा माघे संक्रान्तिका दिन वर्षेनी आयोजना गरिदै आएको गोरू जुधाउने जात्राबारे ‘गोरु जुधाई मेला’ नामक एक वृत्तचित्र निर्माण गरिएको छ । सामुदायिक सेवा केन्द्र, नुवाकोटद्वारा निर्मित सो वृत्तचित्रको निर्देशन प्रज्ञा शशी लुमुम्बू र श्रीराम श्रेष्ठले संयुक्तरूपमा गरेका छन् ।
शशी लुमुम्बूको लेखन रहेको बृत्तचित्रमा अशोककुमार बस्नेत डाइरेक्टर अफ फोटोग्राफ्री रहेका छन्  । सो  वृत्तचित्रमा गणेश हुमागाईं र कन्चन पोखरेलको छायाँकन रहेको छ भने रविन्द्र बरालले ड्रोन परिचालन गरेका छन् । करिब ३० मिनेट समयावधिको उक्त वृत्तचित्रमा गोरु जुधाई जात्राको सुरुवात, ऐतिहासिक पक्ष, जात्रा आयोजना, गोरु जुधाउने विधि र प्रकियाका जानकारी दिनुका साथै गोरु जुधाईको रोचक दृश्य देख्न सकिने निर्देशक लुमुम्बूले भेटमाजानकारी गराए ।
निर्देशक श्रेष्ठका अनुसार स्पेनको बुलफाइटको झझल्को दिने यस गोरु जुधाई जात्रा तथा मेला तारुकाको मात्रै नभएर नेपालकै ऐतिहासिक र मौलिक परम्परा हो । उक्त मेलाको संरक्षण र् जगेर्नामा टेवा पुर्याई पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो । वृत्तचित्र गोरु जुधाउने जात्राको अवसर पारेर सार्वजनिक प्रदर्शन गरिने जानकारी श्रेष्ठले गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्