हिमपातले प्रभावित हुँदै अमेरिका



न्युयोर्क, २७ पौष २०७४  : अमेरिकाको उत्तरपूर्वी राज्यहरूमा गत साता देखि परेको हिमपातले जनजीवन प्रभावित बनेको छ । न्यु योर्क, न्युजर्सी, कनेक्टिकट, भर्जिनिया, म्यासाचुसेट्स लगायत राज्यमा बाक्लो हिउँसँगै उच्च वेगमा हुरी आएकाले जनजीवन अस्तव्यस्त बनेको हो ।

सडकमा १० देखि १४ इन्चसम्म हिउँ पर्ने ‘वेदर फरकास्ट’ले अनुमान गरे अनुसार नै न्युयोर्कको कुइन्समा १३ इन्चसम्म हिउँ परेको छ । हिउँसँगै ५० देखि ६० माइल प्रतिघण्टाको वेगमा चलेको हावाहुरीका कारण मानिसहरू घर बाहिर निस्कनै कठिन भएको छ ।

कतिपय मेट्रो स्टेसन र ट्रेनको लिकमा समेत हिउँ जमेकाले ट्रेन समयमै सुचारु हुन  नसकेको  न्यु योर्क टाइम्सले जनाएको  छ  ।

भारी हिमपातका कारण उत्तर पूर्वी यी राज्यहरूको तामक्रम पनि निकै चिसिएको छ । गत साताबाट तापक्रम माइनस ५ फरेनहाइट देखि माइनस २० सम्म पुग्ने जनाइएको छ । राष्ट्रिय मौसम सेवाले हिमआँधीसमेत हुनसक्ने जनाएको छ ।

नेपालीहरूको बाक्लो बस्ती रहेको कुइन्समा पनि १३ इन्चसम्म परेको हिमपातले अधिकांश दैनिक कामकाजमा जान सकेका छैनन् । कुइन्सको ज्याक्सन हाइटमा बस्नेहरु पनि काममा  जान सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्