आज पृथ्वी जयन्ती, राष्ट्रपतिद्वारा पृथ्वीको शालिकमा माल्यार्पण गर्ने



काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले बिहिबार बिहान ११.३० बजे माल्यार्पण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

पृथ्वी जयन्ती समारोह नागरिक समिति, राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियान, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले पृथ्वीनारायण शाहलाई सम्झदैँ सिंहदरबार अगाडि रहेको उनको सालिकमा माल्यार्पण गर्दैछन् ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए ।

राजसंस्थालाई आदर्श मान्ने पार्टीहरूले पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीको छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । कमल थापा नेतृत्वको राप्रपाले पदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चियापान कार्यक्रम आयोजना गरेको
छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२। ०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने वर्षेनी हुने गरेका छ । आज सरकारले सार्वजनिक बिदा दिएको छ । साभार: जनता समाचार 

प्रतिक्रिया दिनुहोस्