किन खेती अंगाल्न सक्ने केटी खोज्दैछन् एटम ?



काठमाडौँ, २५ पुस २०७४ : लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाई रहेका एटम बिद्रोहीले आफ्नो आमाको चहाना भन्दै एउटा फरक किसिमको गजल ल्याएका छन्

खेती अंगाल्न सक्ने केटी, रोज्नु भन्छिन मेरी आमा
गोबर फाल्न सक्ने केटी, रोज्नु भन्छिन मेरी आमा

पिजा बर्गर बिर्यानी खान, पाइदैन यो गाउँघरमा
गुन्द्रुक उमाल्न सक्ने केटी, रोज्नु भन्छिन मेरी आमा

हिटर छैन ग्यास नि छैन, झिक्रा दाउरा जोहो गरि
चुलो बाल्न सक्ने केटी, रोज्नु भन्छिन मेरी आमा

ढिकी कुट्न जातो पिध्न, टपरी र दुना गांस्न
पिठो चाल्न सक्ने केटी, रोज्नु भन्छिन मेरी आमा

लिप्नु पर्छ पोत्नु पर्छ, माटोको हो यो घर हाम्रो
भत्के टाल्न सक्ने केटी, रोज्नु भन्छिन मेरी आमा

घाँस काट्न डोको बोक्न, गाई भैंसीको दुध दुहुँदै
सोतार हाल्न सक्ने केटी, रोज्नु भन्छिन मेरी आमा

हातपाउ अब चल्न छाडे, धमिलिए आँखा पनि
हाम्लाई पाल्न सक्ने केटी, रोज्नु भन्छिन मेरी आमा

– एटम

नेपाले डाँडा, भोजपुर 

हाल, काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्