नाट्टामा शर्मा समूहको उम्मेदवारी घोषणा



काठमाडौँ, २५ पुस २०७४ : नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) मा दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छन् ।

नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा सो समूहले शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष संगीता जिरेल, महासचिव विनय बस्नेत, सचिव सविता केसी भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै सदस्यमा अमृतकुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डिपी अर्याल, बेन्जु श्रेष्ठ, गीता ढकाल र विनोद कार्कीको नाम घोषणा गरेको छ । घोषणासभामा अध्यक्षका दाबेदार शर्माले नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थालाई विधानसम्मत अघि बढाउने वताए  ।

उहाँले नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट  पारे । सो अवसरमा शर्माले १५ बुँदे घोषणापत्रसमेत सार्वजनिक गर्नुभएको छ ।

नाट्टाको ५१ औँ साधारणसभा यही पुस २८ गते काठमाडौँमा हुँदैछ । पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारणसभामा ४६७ मतदाताले भाग लिँदैछन् ।

यसअघि सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्