गंगासागर मेलामा निःशुल्क गाँस, बास र स्वास्थ्य



काठमाडौँ, २५ पुस २०७४ : माघे सङ्क्रान्तिका अवसरमा बुधबारदेखि लाग्ने गंगासागर मेलामा नेपालीका लागि निःशुल्क खाने, बस्ने र स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।

भारतको कोलकातामा बसोबास गर्ने नेपालीले संयुक्त नेपाली केन्द्रीय सेवा संघ गठन गरेर मेलामा भाषा, हराउनेलगायत समंस्यामा पर्ने नेपालीका लागि सहयोग गर्दै आएको  संघका सल्लाहकार गणेश प्रधानले राससलाई जानकारी दिनुभयो ।

उत्तरायण शुरु हुने माघे संक्रान्तिका दिन गंगा र सागरको दोभानमा स्नान गरी कपिलमुनिको आश्रममा पूजा गर्ने प्राचीन परम्परा छ । यसो गरेमा पाप पखालिई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।  मेलामा सहभागी हुन पुस र माघमा लाखौँ नेपालीले भारतका तीर्थको यात्रा गर्छन् । तीर्थयात्रीलाई सेवा दिन बाबुघाटमा शिविर आयोजना गरिने छ ।

शिविर आगामी माघ ४ गतेसम्म सञ्चालन हुनेछ । शिविरका लागि नेपाली महावाणिज्य दूतावास, कालकाताले पनि सहयोग गर्ने सल्लाहकार प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्