होमस्टेबाट पर्यटकको आकर्षण बढ्दै



लमजुङ,प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर  (घरबास) होमस्टे कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ ।

वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी लमजुङको ऐतिहासिक र धार्मिक महत्व रहेको यस पर्यटकीय गाउँमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै होमस्टे शुरु भएको हो ।

भूकम्पअघि घरबास चलाउन स्थानीय जागरुक बने पनि भूकम्पपछि अमेरिकी नगारिकले एक सामुदायिक भवनसहित १४ घर निर्माण गरिदिनुभएपछि स्थानीयबासिन्दा आय आर्जनका लागि होमस्टे प्रति आकर्षक हुँदै गएका हुन् ।

स्थानीय माई आमा समूहकी अध्यक्ष विष्णुकुमारी गुरुङका अनुसार हाल गाउँका १३ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । उहाँका अनुसार विसं २०६२ मा लमजुङ उद्योग वाणिज्य संघले एकहप्ते होमस्टे तालीम दिए पनि त्यसयता कुनै पनि संस्थाले त्यस किसिमको तालीम दिएका छैनन् ।

होमस्टे लागि १३ वटा घरमा ८४ जनासम्म राख्न सकिने अवस्था रहेको जानकारी दिँदै उहाँले यहाँ आउने पर्यटकलाई स्थानीय खसी तथा कुखुराको मासुसहित गाउँमा नै उत्पादित प्राङ्गारिक तरकारी तथा अन्नका परिकार खुवाउने गरेको बताए ।

पर्यटकलाई कोदाको सेलरोटी तथा मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकारको स्वाद लिने व्यवस्था गरिएको उनले जानकारी दिए । राइनासकोट पुग्ने पर्यटकलाई प्रतिकोठा रु ६००, मासुसहितको खाना रु ३०० राखिएको छ, भने नास्ताका लागि रु ६० लिने गरिएको घरबास सञ्चालन गर्दै आएकी रामतियारी गुरुङले जानकारी दिइन ।

यहाँ पुग्ने पर्यटकले स्थानीयरुपमा कोदोबाट तयार गरिएको मदिराको पनि स्वाद लिन पाउँछन् । “पछिल्ला दिन घरबासमा बस्नका लागि ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक यो गाउँमा आउन थालेका छन्”– उहाँले भन्नुभयो, “गाउँको शिरमा रहेको राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् ।”

सूर्योदयको पनि अवलोकन गर्न सकिने एक हजार ८०० मिटर उचाइको यहाँबाट कास्की, तनहुँ, गोरखा, चितवन, धादिङ, नवलपरासी लगायतका १६ वटा जिल्ला एकसाथ देख्न सकिने स्थानीय समाजसेवी पूर्णबहादुर गुरुङले बाताए ।

उक्त्त गाउँका गल्लीमा बत्ती जडान गर्नुका साथै प्रत्येक घरका पिँढी, आँगन र आकाशे पानीको व्यवस्थापन पुरानैशैलीमा गरिएको छ । राइनासकोटमा रहेका केही पुराना घरलाई पौराणिक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ भने गुरुङ जातिको बस्ती रहेको यस गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन संग्रहालयसमेत स्थापना गरिएको छ ।

कृषि पर्यटनको पनि उत्तिकै सम्भावना बोकेको यस गाउँका प्रत्येक घरमा कृषि र पशुपालनका साथै तल्लो भागमा अलैँची खेती शुरु गरिएको छ ।

नेपालका बाइसेचौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रब्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूघपोखरी मार्ग र त्यहाँबाट झण्डै २० मिनेटको सिँढी समेत उक्लनुपर्छ ।

यहाँस्थित ऐतिहासिक राइनासकोट किल्लासहित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका ऐतिहासिक सम्पदा जीर्ण अवस्थामा रहेकामा यस वर्ष नगरपालिकाले संरक्षणका लागि रु १० लाख छुट्याएको कार्यकारी अधिकृत देवबहादुर अधिकारीले बाताए ।

यहाँको बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यहाँ पुग्ने सिँढी बाटोका लागि रु १० लाख पनि विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्