गन्धर्व नहुँदा गावैँ शून्य !



म्याग्दी । कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै लाग्थ्यो । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई पुलकित तुल्याउने (गन्धर्व) गाइने पछिल्लो समय भएको प्रविधिको विकासले लोपप्रायः छन् ।

दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरू । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् । गीत गाउँदैनन् उनीहरू ।

समाजमा घटेका घटनालाई जस्ताको तस्तै स्वरको मालामा उनेर सबैको मनै छुने गरी गीत गाउँदै घरघरमा पुग्ने गन्धर्व गायनबाटै जीविका चलाउने अवस्था नरहेपछि पेशा परिवर्तन गरेका हुन् । उमेरले ७५ वर्ष पुगिसकेका म्याग्दी खबराका लालबहादुर गन्धर्व भने आफ्नो पेशालाई सकिनसकी गाउँगाउँमा पुगेर सुनाउने गर्छन् ।

लालबहादुर गन्धर्वले आज पनि सात जनाको परिवारलाई गीत गाएरै पालेका छन् । आजभोलि पहिलेको जस्तो गीत गाउँदै घरघरमा पुग्न पनि छोडिसकेको यो समयमा उनले भने आफ्नो पुर्खाको पेशालाई बचाई राखेका छन् । धेरै पहिलेदेखि आफूले गीत गाउँदै जीविका चलाउँदै गरेको बताउँछन्– लालबहादुर गन्धर्व ।

सारंगीको मिठो धुनको तालमा सँगसँगै गीत गाउँदा सुन्ने पनि आनन्दित हुन्छन् जनताले पनि गाइनेको सुरिलो स्वर नसुनेको धेरै भइसकेको छ । पछिल्लो समय गाइने पनि गीत गाउने पेशा छाडेर अन्तै अरु काममा लाग्न थालेका छन् । जसले गर्दा अबका केही वर्षमा कुनै समयका समाचारका स्रोत समाजका सूचक गाइनेलाई गीत गाउँदै हिँडेको कसैले पनि देख्न नपाउने लालबहादुरले बताए ।

नेपालमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा पनि गाइनेको ठूलो सहयोग रहेको स्थानीय टीकाबहादुर थापाले बताए । “उनीहरु जनताको घरघरमा पुगेर परिवर्तनका गीत गाउँदै जनतालाई सुुशोचित पार्ने काम गर्थे त्यसैले उनीहरुले गरेको यो कामलाई कसैले पनि भुल्ने छैनन्”– थापाले खुसी व्यक्त गरे ।
राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्