उत्तर कोरियाले पठायो वार्ता टोलीका सदस्यको नाम



सोल, २३ पुस २०७४ : दक्षिण कोरियासँग गर्ने तय भएको उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको आइतबार प्राप्त समाचारमा  जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले आइतबार यो जानकारी दिएको छ । सो मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सिधा सञ्चार सम्पर्क (हट लाइन कम्युनिकेशन) मार्फत पठाइएको हो ।

यसअघि पनि हिजो शनिबार मात्र दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीको नाम दक्षिण कोरियाले पनि उत्तरको जानकरीका लागि पठाएको थियो । सो नामपछि उत्तर कोरियाका तर्फबाट पनि सो वार्ता टोलीमा सदस्यको नाम दक्षिण कोरियाको जानकारीका लागि पठाइने अपेक्षा गरिएको थियो । सो अपेक्षा बमोजिम नै उत्तरले पनि आइतबार सो नामावली पठाएको जनाएको छ । आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ । उत्तरका तर्फबाट वार्तामा सहभागी हुने सदस्यको नाम आइतबार प्राप्त हुने सोलले जनाए बमोजिम नै आज सो नामावाली प्राप्त भएको छ । उत्तर कोरियाको एक एजेन्सीका प्रमुख रहेका रि सुन गाउनको नेतृत्वमा सो नामावाली दक्षिणलाई उत्तरले पठाएको छ । गाउनको नेतृत्वमा सहभागी हुने पाँच जना सदस्यको नाम नै उत्तरले सार्वजनिक गरेको हो । उक्त हटलाइन सेवा करिब दुई वर्षपछि पहिलोपटक गत बुधबारमात्र पुनःस्थापना गरिएको हो । जसका कारण यी दुई देशबीचमा आगामी दिनमा वार्ता र सौहार्दताका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । सोही बमोजिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गर्नुभएको सम्बोधन पछि परिस्थिति फेरिएको छ । उहाँको सो सम्बोधनमा दक्षिण कोरियाले गरेको उक्त उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने संकेत आएको थियो । त्यसयता यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको स्वागत गर्दै वार्ताका लागि तयारी थाल्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । सोही वार्ताका लागि शनिबार दक्षिण कोरियाले सदस्यहरूको सूची उत्तरलाई पठाएको हो । त्यसैगरी उत्तर कोरियाले पनि आफ्नातर्फका सदस्यको सूची सार्वजनिक गरेपछि वार्ता अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्