राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदै



कञ्चनपुर, २३ पुस २०७४ : भीमदत्तनगर कञ्चनपुरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९ औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ ।

खेलाडीको बसोबास, यातायात लगायतको खर्च आयोजकले व्यहोर्नेछ । प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख खर्च हुने अध्यक्ष पाण्डेयले बताए । राष्ट्रिय खेलकुद परिषद्ले रु आठ लाख, सटल कर्क, मेडल तथा प्रमाणपत्र उपलब्ध गराउने छ ।

“तेह्र लाख खर्चको जोहो आयोजकले गर्नेछ,” उनले भने । प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागी हुने खेलाडीको जिल्लास्तरमा छनोट भई कैलालीको धनगढीमा क्षेत्रीय छनोट प्रतियोगिता गरिनेछ ।

संघले प्रतियोगितास्थल स्थानीय कभर्डहलमा पूर्वाधार मर्मत र अन्य तयारी गरिरहेको नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले बताए ।

प्रतिक्रिया दिनुहोस्