सफा नदी राख्न आग्रह



धादिङ, २२ पुस २०७४ : पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित बालुवा धुने उद्योग र नदीमा हालिएको धमिलो पानीले प्रदूषण बढ्नाका साथै नदीमा यन्त्र प्रयोग गर्दा वातावरण संरक्षणमा नोक्सानी भएकाले जिल्ला प्रशासन कार्यालयले नदी सफा गर्न उद्योगलाई निर्देशन दिएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने स्थानीय तह सञ्चालन कार्यविधि र विपद् व्यवस्थापनसम्बन्धी कार्यशालामा गाउँपालिका र नगरपालिकाका प्रमुखले अनियमित गतिविधिका कारण वातावरण संरक्षणमा ह्रास आएको कुरा उठाएपछि प्रजिअ श्याम भण्डारीले अनियमित सबै गतिविधि रोक्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

गल्छी गाउँपालिका सबैभन्दा बढी फिरफिरे सञ्चालन भएर पनि व्यवस्थित नभएको बजारका रुपमा रहेको छ । सडक किनारामा बालुवा धुने यन्त्र राखेर बालुवा धुने गर्दा सडकमा पानी चुहिएको छ । चिसो बालुवा परेर सडक हरेक वर्ष भत्किएको तथा बालुवाका कारण धुलो उडेर मोटरसाइकलमा सवार गर्नेलाई सास्ती हुने गरेकाले सडक सुरक्षित बनाउनुपर्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति भक्त लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्