पर्यटक भित्र्याउन युवाले बनाए कृत्रिम ताल



२१ पौष २०७४ काठमाडौं – रामपुर पाल्पाका युवाले ७३ रोपनी क्षेत्रफलमा कृत्रिम ताल बनाएर पर्यटक भित्र्याउने  लक्ष्य राखेका छन्। व्यापारिक सहरका रूपमा रहेको रामपुरमा कृत्रिम ताल निर्माण गरिएको छ।

उनीहरूले चन्दा संकलन एवं महायज्ञ गरेर ताल निर्माणका लागि रकम जुटाएका हुन्। करिब तीन करोड रुपैयाँ लागतमा रामपुर नगरपालिका-६ तालपोखरामा कृत्रिम ताल बनाइएको हो। कृत्रिम तालको बीचमा मन्दिर निर्माण गरिएको छ। मन्दिरमा दर्शनका लागि तालपोखरा सञ्चालन समितिले कृत्रिम तालमा डुंगा सञ्चालनको तयारी गरेको छ।

‘गाउँका युवा जम्मा भयौँ, छलफल गर्दा खाली रहेको चौरलाई तालका रूपमा परिणत गर्ने कुरा उठ्यो। सोहीअनुसार योजना बनाई ताल निर्माणमा आफूहरू लागिपरेको उनीहरुको भनाइ छ। तालको तीनतिरबाट डुंगा सञ्चालन गर्ने तयारी भइरहेको तालका परिकल्पनाकार देवराज देवकोटाले जानकारी दिए।

कृत्रिम ताल बाह्रै महिना भरिभराउ बनाउन सिँचाइका लागि ल्याइएको पानी प्रयोग गरिएको छ। समितिले कालीगण्डकीबाट पानी तान्ने योजनासहित काम गरिरहेको जानकारी दिएका छन्।

कालीगण्डकीको पानी तालमा राखेर धार्मिक महिमा फैलाउने योजनासहित यस क्षेत्रमा अन्य मठमन्दिर निर्माणको कामसमेत गर्ने योजना रहेको रामपुर नगरपालिका-६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्