कपिलवस्तुमा जाडोको पर्वाह नगरी महिलाले बाटो बनाए



जितपुर, कपिलवस्तु, २१ पुस, २०७४ :  पुसको यो कठ्याङ्ग्रिँदो जाडाको पर्वाह नगरी बाटो नभएर समस्या झेल्दै आएका शिवराज नगरपालिका–९ विजगौरी र रमुवादहका महिलाले आफैँ श्रमदान गरेर बाटो निर्माण गरेका छन् ।

चिसोमा स्थानीय २०० भन्दा बढी महिलाको सहभागितामा दुई दिनमै शिवजुर–१ मौवाडाढादेखि शिवराज नपा–९ को सुरई खोला सिमानासम्म रमुवादह गाउँ जाने करिब दुई किलोमिटर बाटो बनाएका हुन् । “उनीहरुले आफ्नो गाउँसम्म पुग्ने बाटो ६ मिटर फराकिलो बाटो बनाएर माटो पटाउनुका साथै दुवैतिर नालीसमेत बनाएका छन् । घरकै खाना खाएर बिहानदेखि साँझसम्म काम गर्यों”, बाघपुराकी रोक्कामगरले भन्नुभयो, “बाटो बन्दा आवतजावत गर्न निक्कै सहज भएको छ ।”

रमुवादहका महिलाले बिहान ७ देखि साँझ ५ बजेसम्म कुटो, कोदालो, साबेल, गैंती र झउवा चलाएर बाटो बनाएका हुन् । किशोरीदेखि गृहिणी, अर्धवँैसे र पाका महिलासम्म गैंती र कोदालो आफैँ चलाएका थिए । “गाउँबाट आउजाउ गर्न निक्कै दुःखकष्ट थियो”, अमृता गुरुङले भन्नुभयो, “त्यही सम्झेर काम गरेका हौँ, कसैको मुख ताक्नुभन्दा आफैँ कसिँदा राम्रो भन्दै लागेका हौँ अब नगरपालिकाले हाम्रो उत्साह मर्न दिन हुँदैन । बजेट विनियोजन गरेर ग्राभेल पनि गर्नुपर्छ ।”

उनीहरुलाई हौस्याउन शिवराज नगपालिका–९ का अध्यक्ष चुरबहादुर खड्का दैनिक बाटो खन्न पुग्ने गर्नुहुन्थ्यो । “बाटोका लागि नगरपालिकाको ध्यानाकर्षण गराइसकेको छु”, उहाँले भन्नुभयो, “थोरधेरै बजेट छुट्याउन लगाउँछु । काम गर्नेको सम्मान गर्नुपर्छ ।” स्थानीयवासीले करिब रू चार लाख बराबरको श्रमदान गरेको उहाँले जानकारी दिनुभयो । बाटो नहुँदा रमवादहसम्म पुग्न उमरीदेखि करिब पाँच किमी जंगलको गोरेटो बाटो हुँदै गाउँ पुग्नुपथ्र्यो तर अब यो बाटो बनेपछि उमरीबाट तीन किमीमै गाउँ पुगिन्छ । बाटो निर्माण भएपछि आवतजावत गर्न निक्कै आनन्द भएको भन्दै स्थानीय हर्षित भएका छन् । महिलालाई ५० भन्दा बढी पुरुषले पनि साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्