कर्णालीको विकासमा लागिपर्ने सांसदको प्रतिबद्धता



काठमाडौँ, २० पुस २०७४ : कर्णाली अञ्चलबाट नवनिर्वाचित सांसदले कर्णालीको विकासका लागि आफूहरू लागिपर्ने  प्रतिबद्धता व्यक्त गरेका छन्  । काठमाडौँ–कालीकोट संघीय जनसम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूका लागि आयोजना गरेको  बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूले  कर्णालीको विकासका लागि आफूहरू मिलेर काम गर्ने बताएका हुन्   ।  नेकपा (माओवादी केन्द्र)का  सांसद दुर्गाबहादुर रावतले सबै सांसद एकजुट भएर लागे कर्णालीको विकास चाँडै हुने बताउनुभयो । उहाँले सरकारले कर्णाली अञ्चललाई सधैँ दोस्रो दर्जाको रुपमा हेर्ने गरेको उल्लेख गर्दै भन्नुभयो, “अब हामी आफैँ कर्णालीको विकासमा सबै एकजुट हुनुपर्छ ।”नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र महतले विकास र रोगजारीबाट पछाडि परेको कर्णालीलाई संगठितरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो  । स्वतन्त्र सांसद छक्कबहादुर लामाले नीति निर्माण तथा कार्यान्वयन तहमा आफूहरु रहेकाले केन्द्रको मुख नताकी सबै सांसद मिलेर कर्णालीको विकास गर्ने धारणा व्यक्त गर्नुभयो ।  नेकपा (एमाले) का सांसद गोपालबहादुर बमले कर्णालीको विकासे मुद्दामा सबै सांसद एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का सांसद धनबहादुर बुढाले अरुको मुख ताक्नुभन्दा अब आफैँ विकास निर्माणमा लाग्नुपर्ने बेला आएको छ भन्दै उहाँले कर्णालीमा भएका प्राकृतिक स्रोत साधनको  सही सदुपयोग गर्न सकेमात्र मात्र विकासमा सहयोग मिल्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद जीवनबहादुर शाही, दलबहादुर रावल, दानसिंह परियार, पदम रोकाया, नरेश भण्डारी र वीरबहादुर शाहीलगायत कर्णालीको विकास सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको  थियो ।

प्रतिक्रिया दिनुहोस्