सुस्तामा झुलुङ्गे पुल निर्माण ढिलाईका कारण डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् स्थानीयवासी ।



रबिन्द्र यादव/नवलपरासी, पुस २०, २०७४ : सुस्ताको झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्ताबासीहरुको समस्या बढदै गएको छ । ठेकेदारले झोलुङ्गे पुलको निर्माणमा विभिन्न कारण देखाई ढिलाई गरिहेको हुँदा सुस्ताबासीहरु आफ्नै जिल्लाको सुस्ता गाउँपालिका वा सदरमुकाम आउन जोखिम पुर्ण डुङ्गा यात्रा गर्न बाध्य भएका छन् । यसरी कछुवा तालमा भैरहेको पुल निर्माणले सुस्ताबासीले  कहिले सुख पाउलान भनि तिनको मनमा चिन्ता समेत समाएको छ । नारायणी गण्डकी) पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी र जिल्लाको सुस्ता गाउँपालिका जोडने गरि सरकारले २ वर्ष अगाडी झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको लापरवाहीले उक्त पुल निर्माण सुभारम्भ नै एक वर्ष ढिलो भएको स्थानियले बताए । वर्षाैदेखि जोखिम पुर्ण यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दियो । वि.स २०७३ पुषमा शुरु भएको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अझै ५ प्रतिशत पनि हुन सकेको छैन । पुलको निर्माण कार्यमा २ वर्ष बिताए पनि पिलरको निर्माण गर्न सकिएको छैन । पुलको निर्माण कार्य सुस्त गतिमा भैरहेको । पुल निर्माणमा पटक पटक विभिन्न विवाद समेत उठने गरेको र प्राविधिक गडबणी र विभिन्न विवादले पटक पटक अवरुद्ध हुदै आएको पुल निर्माण कार्य ५ वर्षमा पनि पुरा नहुने संकेत देखिएको छ । १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको उक्त झोलुङ्गे पुलको बेस बनाउने कार्यमा जम्मा १६ वटा पाईल मात्र धाँसिएको छ । पुलको निर्माणका लागि कुल २ सय २० वटा पाईल धाँसी ४ वटा ठुलो अग्लो पिलर ठडयाईने छ भने १० वटा सानो पिलर ठडयाई पुल बाँधिने कार्य गरिने साइट सब ईन्जिनियर गोपाल बहादुर थापाले बताए । त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २७ करोड रुपैयामा ठेक्का लिएको उक्त पुलको निर्माण कार्यमा ढिलाई हुनु लामो समय मधेश आन्दोलन, वर्षायाममा भिषण बाढी र भारतीय विवाद रहेकोे साईट सब ईन्जिनियर थापाले बताए । नारायणी (गण्डक) नदीपारी भारतको विहार सिमासंग जोडिएको नेपालकै भुमि सुस्ता पुग्न नेपालको एक मात्र बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । हाल सुस्ता गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुस्ता भुमी पुग्न नदीवारी पक्लिहवाँ गाँउ स्थित नदीको बन्धाबाट करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नु पर्दछ । उक्त यात्रा २ घण्टा भन्दा बढि लाग्ने गर्दछ । वर्षाको बेला उच्च बाढीका कारण सुस्ताबाट आवत जावत गर्नै सकिने अवस्था रहदैन । वर्षाैंदेखि सुस्तामा बसोबास गर्दै आएका सुस्ताबासीहरु कुनै प्रकारको सरकारी तथा गैरसरकारी कामकाज गराउन र बजार गर्न त्रिवेणी बजार आउनु पर्दा जोखिमपुर्ण यात्रा डुङ्गा नै तारेर आउने गर्दछन् । डुङ्गाको सफर सुख्खा याममा दुरी कम र जोखिम पनि कम हुन्छ तर वर्षातको मौसममा नदीको भिषण बाढीले पुरै नदीमा पानी भर्दछ र यात्राको दुरी बढाउने देखि यात्रा उच्च जोखिममा पुग्ने गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले जानकारी दिए । सुस्तामा उत्पादित बालीहरु बेचविखन गर्न र मजदुरी गर्न पनि डुङ्गा नै तारेर आवत जावत गर्दछन सुस्ताबासी ।

सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । सुस्तामा खास गरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ । सुस्ताबाट नेपाल आवतजावत गर्न अर्काे विकल्पको बाटो भारतीय बाटोपनि छ जुन बाटो तय गर्दा डुङ्गा चढन पर्दैन तर त्यो बाटो प्रयोगमा भारतीय एसएसबीले पटक पटक रोक लगाउने देखि सुस्ताबासीहरुलाई मानसिक एवं शारिरीक यातना दिने गर्दछ । भारतीय एसएसबीको ज्यादतीले सुस्ताबासी त्यो बाटो प्रयोग गर्न डराउने गरेको अध्यक्ष गुरुङ्गले बताए । विगतमा बाढीको बेला डुङ्गाको यात्रा गर्दा कतिपटक त डुङ्गै पल्टेर भौतिक तथा मानविय क्षति भएको छ गुरुङ्गले दुखेसो पोखे । गुरुङ्गले भने, डुङ्गा चढिन्छ तर पारी सहिसलामत पुगिन्छ कि नाई भन्ने त्रास मनमा बसिरन्हन्छ । छोटो दुरीमा आफ्नो बचावका लागि सबै सुस्ताबासीहरु पौडी सिकेका छन् । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता पन्चायत २०६२ साल देखिनै भारतीय पक्षद्धारा १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र ७ हजार हेक्टेयर क्षेत्रफल भातरले जोतभोगबाट रोक समेत लगाएको छ । करिब ३ सय घरधुरी रहेको सुस्ता भुमिमा बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार समेतको समस्या वर्षौदेखि नै यस्तै छ ।

प्रतिक्रिया दिनुहोस्