डिजिटल प्रविधिबाट जग्गा नापजाँच



काठमाडौँ, १९ पुस २०७४ : नापी विभागले नमूनाका रुपमा डिजिटल प्रविधिबाट जग्गा नापजाँचसहित नक्सा वितरण शुरु गरेको छ ।

पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु गरिएको
हो । यो प्रविधिअनुसार जग्गा नाप गरेर प्रत्येक कित्ताको लम्बाइ, चौडाइ, क्षेत्रफल र चार किल्ला खुलेको नक्सा ‘ए फोर’ आकारको कागजमा जग्गाधनीलाई दिइएको छ ।

पाल्पामा यो प्रविधिबाट जग्गा नाप जाँच गर्न विशेष कार्यालय नै खोलिएको छ । कार्यालयमा ९७ कर्मचारीको दरबन्दी भए पनि हाल ३० जनामात्र कार्यरत रहेको कार्यालय प्रमुख एवं प्रमुख नापी अधिकृत गंगालाल पोखरेलले जानकारी दिनुभयो । जनशक्तिको अभावमा काममा ढिलाइ भएको छ ।

वि.सं २०५८ मा नापी तालीम केन्द्र भूमि प्रशिक्षण केन्द्रमा रुपान्तरण भएको हो । त्यसपछि पनि जनशक्ति कम भएको र केन्द्रले विशेष गरी सर्वेक्षकका लागि तालीम दिँदै आएको छ । द्वन्द्वकालमा स्रेस्ता, कागजलगायत जग्गासम्बन्धी प्रमाण धेरै जलाइएका तीन जिल्लामा पुनः नापी शुरु भएको थियो । यसमध्ये पाल्पामा डिजिटल प्रविधिबाट जग्गा नापिएको हो । अर्घाखाँची र अछाममा भने ‘प्लेन टेबल’ प्रविधिमा जग्गाको नापी भइरहेको छ ।‘प्लेन टेबल’ प्रविधिस्थलगत रुपमा गएर फित्ता लगाएर नापिन्छ । यो प्रविधिबाट वि.सं. २०३१ देखि जग्गा नाप्न शुरु गरिएको थियो ।

डिजिटल प्रविधिमा भने ‘टोटल स्टेशन’ नामक यन्त्रको प्रयोग गरिन्छ । यसमा हुने ‘लाइट रिफ्लेक्टर’ ले प्रकाश दिन्छ । कोण र दूरीका आधारमा समन्वय गरेर नक्सा निकालिने भएकाले यो प्रविधिबाट नापिएको जग्गा बढी प्रामाणिक हुने कार्यालय प्रमुख पोखरेलको भनाइ
छ । लालपूर्जा एवं जग्गाका नक्सा वितरण गरेपछि दाजुभाइ, साँध सँधियारका बीच सीमा विवादको किचलोसमेत कम भएको छ, सेवाग्राही यो प्रविधिबाट सन्तुष्ट छन्, यसको माग कास्कीलगायत जिल्लामा छ”, उहाँले भन्नुभयो ।

वि.सं. २०५८ मा पहिलोपटक कास्की र ललितपुरमा डिजिटल प्रविधिबाट जग्गा नाप्न शुरु हुँदा स्थलगतरुपमा नापेर ल्याएको तथ्य र कार्यालयको अभिलेखमा भएको तथ्य नमिलेपछि कार्यक्रम नै बन्द गरिएको थियो ।

वि.सं. २०७१ मा पाल्पामा शुरु गरिएको यो प्रविधिबाट हालसम्म पाँच हजार जग्गा धनीको १५ हजार कित्ता जग्गाको नापजाँच सम्पन्न भएको छ । किसानलाई लालपूर्जासँगै कित्तागतरुपमा ए फोर साइजको कागजमा नक्सा पनि दिइएको छ । यो नक्सा दिएपछि ‘ट्रेस’ समेत लिनु नपर्ने उहाँले बताउनुभयो ।

पाल्पा जिल्लाको साविकका बराङ्दी, पोखराथोक, चापपानी, खानीगाउँ, बन्दीपोखरा, रुप्से र रामपुर नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का सबै जग्गा डिजिटल प्रविधिबाट नापी सम्पन्न भएको छ ।

तिनै जिल्लामा स्थापना भएका विशेष नापी कार्यालयलाई मालपोत र नापी दुवै कार्यालयको अधिकार दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्