अलैँचीको मूल्य बढेपछि किसान आकर्षित



इलाम, १९ पुस २०७४ : केहि वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् ।

अहिले अलैँची प्रतिमन रु ३५ हजारदेखि रु ३८ हजार हाराहारीमा कारोबार भइरहेको छ । यसभन्दा अघि अलैँची कारोबार प्रतिमन ४० किलो रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर दुई सातायता अलैँचीको भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका छन् । भाउ वृद्धि भएसँगै अलैँची कारोबारमा वृद्धि हुन थालेको छ ।

छिर्केफुर्के रोगले जिल्लामा धेरै अलैँची बगान मासिएको थियो । भाउ पाउने आशामा किसानले विभिन्न ठाउँबाट बिरुवा खरिद गरेर अलैँची रोपिरहेका छन् । किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि अनुदानमा अलैँचीका बिरुवा उपलब्ध गराउँदै आएको छ ।

अलैँची व्यवसायी संघका अध्यक्ष विजय खाकीले अलैँचीको मूल्यमा क्रमिक सुधार हुन थालेको बताउनुभयो । उचित मूल्य पाउने आशामा किसानले तीन/चार वर्षदेखि अलैँचीलाई गोदाममा थन्काएर राखेका छन् । यस वर्ष अलैँची कारोबार गत वर्षको तुलनामा आधा मात्र भएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।  इलाममा आव  २०७३/७४ मा एक हजार सात सय हेक्टर क्षेत्रफलमा ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्