अन्तर्राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दोमा पुष्पालाई स्वर्ण



इटहरी, १८ पुस :  फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी पुष्पा श्रेष्ठले अन्तर्राष्ट्रिय ओपन स्वर्ण पदक जितेकी छन्। फाइनलमा उनले नेपालकी अनुजा परियारलाई पराजित गरिन्। इटहरी रंगशालाको कभर्ड हलमा सोमबारदेखि सुरु भएको च्याम्पियनसिपमा पुष्पाले महिला ३७ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले राजधानी बाहिर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुनु गर्वको कुरा भएको बताए। उनले आगामी दिनमा इटहरीबाट पाठ सिकेर अन्य क्षेत्रले पनि यस्ता प्रतियोगिता गर्नुपर्ने बताए। च्याम्पियनसिपमा नेपालसहित अमेरिका, क्यानडा, भारत, बंगलादेशलगायत १२ देशका सात सय २१ खेलाडीको सहभागिता छ। यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले गरेका थिए।

पहिलो दिन महिला ३५ केजी तौल समूहमा नेपालकी सावित्रा तामाङ र ४६ केजीमा नेपालकी सिमोन सुनुवारले स्वर्ण जिते। पुरुष ३३ केजी तौल समूहमा नेपालका सुजन सिलवालले नेपालकै रोशन चौधरीलाई पराजित गर्दै स्वर्ण पदक हात पारे। महिला २९ केजीमा भारतकी नयना ताराले स्वर्ण जितिन्। यसैगरी पुम्सेतर्फ नेपालकी पुनम देवकोटा, सिंहा लिम्बू, सुस्मिता तामाङ, रविन गुरुङ, निशा दरनालले स्वर्ण जितेका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले इटहरीलाई खेलकुदको राजधानीका रूपमा विकास गर्ने लक्ष्यअनुसार विभिन्न खेलकुद प्रतियोगिता गराउँदै आएको बताए। प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट प्रशिक्षकलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक राष्ट्र राईले जानकारी दिए। अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गरेर जस्तोसुकै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्नसक्ने सन्देश दिएको बताए।

प्रतिक्रिया दिनुहोस्