सौर्य ऊर्जाले झलमल्ल रोल्पा गाउँ



रोल्पा, १८ पुस २०७४ : सरकारी अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् ।

जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामध्ये ७ हजार ३४४ घरधुरीले साना घरेलु सौर्य ऊर्जा र १३ हजार ६०३ घरधुरीले घरेलु सौर्य ऊर्जा प्रयोग गर्दै आएको ऊर्जा शाखा तथा वातावरण शाखाले जानकारी दिएको छ । सरकारले अनुदान दिएकाले पनि यसको अधिकतम घरधुरीमा यसको पहुँच पुगेको हो ।

जिल्लामा सौर्य ऊर्जापछि विद्युतीय ऊर्जा प्रयोगकर्ताको संख्या पनि वृद्धि हुँदै जान थालेको छ । जिल्लाका पाँच हजार ६०८ घरधुरीले स्थानीय खोलानालाबाट निकालिएको लघु जलविद्युत् उपभोग गर्ने गरेका छन् । लघु जलविद्युत्का ६३ योजनामध्ये ३३ वटा पूरा भएको, दुई वटा बिग्रिएको र ३१ वटा निर्माणाधीन रहेको ऊर्जा इञ्जिनियर हुकुम बुढाले जानकारी दिनुभयो । निर्माण सम्पन्न ३३ मध्ये साना जलविद्युत् १८ वटा र लघु जलविद्युत् १५ वटा रहेको उहाँले बताउनुभयो ।

वैकल्पिक ऊर्जाको अर्को स्रोतको रुपमा रहेको बायोग्यासका प्रयोगकर्ता भने जिल्लामा निकै कम देखिएका छन् । विभिन्न संघ संस्थाले बायोग्यास जडानका लागि अनुदानसहित सहयोग गर्दै आएको भए पनि यसप्रति भने जनताको आकर्षण खासै देखिएको छैन । जिल्लामा २०५ घरधुरीले मात्रै बायोग्यास जडान गरेको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जानकारी दिएको छ ।

जिल्लामा सुधारिएको चुलोका प्रयोगकर्ता बढेसँगै वन जंगल संरक्षणमा समेत टेवा पुगेको, रोल्पालीको स्वास्थ्यमा समेत सुधार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्