इटहरीमा बार्हौ अन्तर्राष्ट्रिय तेक्वान्दो शुरु



इटहरी, १७ पुस : इटहरीस्थित तेक्वान्दो एकेडेमी हलमा १२औ अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, कम्बोडिया, कतार, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, अष्ट्रिया, घाना, नाइजेरियालगायत दुई दर्जनभन्दा बढी देशका खेलाडी तथा रेफ्री, प्रशिक्षक, अधिकृत आदि गरी झण्डै एक हजार जनाको सहभागिता रहेको छ ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले प्रतियोगिता उद्घाटन गर्दै नेपालको भूमिमा खेलिँदै आएका सबै खेललाई अब गाउँ तथा शहर सबै स्थानमा उत्तिकै महत्वका साथ विकास गर्न सरकारले विशेष ध्यान दिने बताउनुभयो ।  मन्त्री केसीले अब चाँडै  १३ औ साफ खेलसमेत नेपालले आयोजना गर्ने अवसर पाएको बताउँदै इटहरीलाई खेलकुदको शहर बनाउन खेलको भौतिक पूर्वाधारमा जोड दिइने जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव केशवकुमार विष्टले नेपाललाई विश्वविख्यात खेलाडी र सशक्त खेलकुदकर्मीका नामबाट समेत विश्वमा चिनाउने गरी काम गरिने बताउनुभयो ।  अन्तर्राष्ट्रिय तेक्वान्दो खुला च्याम्पियनसिप संस्थाका महासचिव क्योरिन ब्ल्यासलेज, राजु राईलगायतले  अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेललाई इटहरीमा आयोजना हुनु राखेप र इटहरी तेक्वान्दो दोजाङ्ग तथा स्थानीयवासीको पर्याप्त सहयोग नै मुख्य कारण रहेका जनाउँदै खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्