आर्मी र एपीएफ बिच च्याम्पियन



पाेखरा, २०७४ पुस १६

पोखरा रंगशालामा पुस १५ शनिबार राष्ट्रिय भलिबल प्रतियाेगीता सम्पन्न भएकाे थियाे । राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला  भलिबल प्रतियाेगीतामा सशस्त्र प्रहरीको एपीएफ र ३१औं पुरुष राष्ट्रिय भलिबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन् । महिला राष्ट्रिय भलिबलतर्फ विभागीय टोली एपीएफ मध्यमाञ्चललाई हराउँदै च्याम्पियन बनेको हो । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब  अर्को  विभागीय टोली एपीएफलाई हराउँदै  च्याम्पियन बन्यो ।

प्रतियोगितामा महिलातर्फको खेलमा एपीएफले मध्यमाञ्चललाई २५-१८, २५-१४, २५-१० को सोझो सेटमा हरायो । मध्यमाञ्चलले न्यु डायमन्ड एकेडेमीको सिंगो टोली नै लिएर मैदानमा उत्रेको थियो । महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार हात पारिन् । एपीएफ सातौं राष्ट्रिय खेलकुदको विजेता हो।

पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २५-१२, २५-२३, २५-१५ को सोझो सेटमा स्तब्ध बनायो । पुरुषतर्फ आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी भए । उनले पनि १५ हजार रुपैयाँ पुरस्कार पाए । आर्मी क्लब सातौं राष्ट्रिय खेलकुदको विजेता हो । आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफले आयोजक पश्चिमाञ्चललाई सेमिफाइनलमा हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले आयोजक पश्चिमाञ्चललाई २५-१५,२५-२१,२५-२१ को सोझो सेटमा हरायो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा आयोजक पश्चिमाञ्चलले पुलिस क्लबलाई २५-२२, २०-२५, २१-२५, २५-१६ र १८-१६ को कठिन सेटमा हरायो । महिला र पुरुषतर्फ विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाए ।
विजेता टोली र खेलाडीलाई युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी र मुस्ताङबाट प्रदेश सभा सदस्यमा निर्वाचित इन्द्रधारा विष्टले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्