मेची पुल छिट्टै सञ्चालनमा आउने



भद्रपुर, १६ पुस : झापा जिल्लाको उच्च प्राथमिकतामा रहेको भद्रपुर नगरपालिकास्थित मेची पुलको निर्माण कार्य लगभग पूरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ ।

बुहआयामिक एवं बहुप्रतिक्षित यो पुल अनक–सूर्या जेबीले २०७१ पुस २७ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०६६ पुस २९ गते  रु ३७ करोड ३६ लाख ८५ हजारमा ठेक्कामा लिई काम शुरु गरेको थियो । प्राविधिक कारणले निर्माण अवधि सकिए पनि तीन पटक अवधि थपेर यो पुलको निर्माण कार्य लगभग सम्पन्न भएको हो ।

मेची पुलको लम्बाइ ५६० मिटर, चौडाई ९.८ मिटर डबल लेन हुने सो पुल नेपाली प्रविधिबाट अन्तर्राष्ट्रियस्तरको पहिलो पटक निर्माण हुन लागेको योजना कार्यालयका इन्जिनियर उपेन्द्र दासले बताउनुभयो ।

उहाँले पुल निर्माण  भएर सञ्चालनमा ल्याउन पुलको पश्चिमतर्फ मूलबाटोमा रहेको २४ घरधुरीको घर र टहराको क्षतिपूर्ति दिन सरकारले रु १० करोड व्यहोर्नु पर्ने देखिन्छ, यो रकम छिट्टै निकासा भइदिएमा पुल सञ्चालनमा ल्याउन गर्नु पर्ने काम पनि सजिलै सम्पन्न गर्न सकिनेमा जोड दिनुभयो

त्यस्तै, पुलको पूर्वतर्फ नेपाली सिमानामा पुल निर्माण कम्पनी र बाँकी भागमा विहार सरकारले बाटो बनाइदिने सहमति पनि भइसकेको छ ।

दुवैतर्फ पैदल मार्ग बनेको पुलको गुणस्तरमा निकै ध्यान दिएको इन्जिनियर दासको भनाइ छ भने स्थानीय बासिन्दा पुलको जगदेखि बिम र सल्याव निकै बलियो रहेको बताउँछन् ।

सत्र वटा पिलर रहेको सो पुलमा १० र ११ नम्बर पिलरमा आएको खराबीले गर्दा निर्माण ढिलो भएको र देखिएको खराबीलाई सुधार गर्न सडक विभाग पुल एकाइका प्राविधिकको विशेष टोलीबाट तयार पारिएको  प्रतिवेदनअनुसार काम गरेको बताइएको छ ।

पुलको बचावट र नदी नियन्त्रणका लागि पुलको दुवै किनारमा सिरानतर्फ ७०० मिटर र दक्षिणतर्फ ३०० मिटर लम्बाइको तटबन्ध गरिएको छ ।

पुल निर्माणका लागि भएको प्रयास

पुल निर्माणका लागि भद्रपुर र दक्षिण झापावासीले  २००९ सालदेखि नै संघर्ष गर्दै आइरहेकामा पुल अन्ततः बनेर नै छाड्यो ।

पुल निर्माण गर्न भद्रपुर तथा झापावासीले २०२८ सालमा तत्कालीन युवराज स्व वीरेन्द्र शाह पूर्वाञ्चल भ्रमणका क्रममा इलाममा आएका बेला स्थानीय उद्योगी एवं समाजसेवी भद्रपुर निवासी मोहनलाल अग्रवालको संयोकत्वमा बनेको समितिले जनस्तरबाट चन्दा संकलन गरी उठाएको रु २२ लाख ८० हजार भेटी चढाएको वरिष्ठ पत्रकार एवं मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले जानकारी दिनुभयो ।

त्यो समयमा पुल निर्माण गर्न कूल रु ३७ लाख लागत लाग्ने प्राविधिकले जनाएका थिए । पुल नबन्दा लगभग सबै निर्वाचनमा राजनीतिक दलबाट उम्मेदवार बन्ने नेताहरुको चुनावी एजेण्डा हुने गथ्र्यो भने जनताले पनि पुल बनाउन आ–आफ्ना समर्थित राजनीतिक दलका नेतालाई दबाब दिँदै आएका थिए ।

पुलबाट हुने फाइदा

नेपाल भारत ओहोरदोहोर गर्न र तथा यहाँको व्यापार व्यवसायलाई उचाइ तहमा पु¥याउन निकै महत्व राख्ने यो पुल निर्माणपछि भारतको सिलगुडी, किसनगञ्ज, ठाकुरगञ्ज, बंगलादेशजस्ता देशमा व्यापार र व्यवसायमा पहुँच पुग्ने उद्योगी व्यापारी तथा बुद्धिजीवीको भनाइ छ ।

पुलको अभावमा राजधानी बाहिर सबैभन्दा पहिले बनेको भद्रपुर नगरपालिकाले गति लिन सकेन र यहाँ स्थापना भएको उद्योग एवं कलकारखाना विस्थापित हुन पुग्यो ।

नेपाल–भारत जोड्ने तथा व्यापार व्यवसायलाई नजिक एवं सरल र सहज बनाउने मेची पुलको निर्माण कार्य सम्पन्नपछि यहाँ उद्योग, व्यापारले गति लिई रोजगार सिर्जना हुने सम्भावना छ ।

मेची पुल नजिकै रहेको गलगलिया स्टेशनमा ब्रोडगेजका रेल चल्ने भएकाले त्यहाँ भारतका सबै प्रमुख शहरको पनि यात्रा सजिलै गर्न सकिने छ ।

पुल नबन्दाको जोखिम

मानिसले मेची पुलको अभावमा वर्षात्को समयमा सशुल्क डुंगा चढेर र या राँगा गाडी चढेर वारपार गर्ने गरेका थिए भने बाढी तथा वर्षात्को समयमा नदी तर्दा हुने जोखिम अब सधैँका लागि अन्त्य भएको छ ।

महिला नदी तर्दा लगाएको लुगा माथि उठाउँदा अनुभव हुने शरम पनि पुल बनेसँगै समाप्त भएको छ ।

नगरपालिकाले मानिस तथा सवारी साधन वारपार गर्न मानव निर्मित बाँसको पुल पार गर्दा साइकल, रिक्सा, सिटी सफारी र कार भ्यान पार गर्दा रकम असुली गरिरहेको थियो ।

पुल कसरी बन्यो त

एकभन्दा धेरै प्रधानमन्त्रीले शिलान्यास गर्दै आएको यो पुललाई झापाली जनता र स्थानीय राजनीतिक दलका नेता एवं बुद्धिजीवीको सामूहिक मागलाई तत्कालीन उपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले पुल बन्ने ठोकुवा गर्दै शिलान्यास गर्नुभएको थियो ।

निर्माणाधीन पुलको सम्बन्धमा दुई वर्षअघि पनि निर्माणस्थलमा पुगेर उहाँले स्थानीयवासीसँग छलफल गर्नुभएको थियो भने गएको पुस १९ गते झापाको बनियानी आइपुग्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि स्थानीय जनताले पुल छिट्टै बनाइदिन आग्रह गरेका थिए ।

पुलको विषयमा स्थानीय जनताको भनाइ

भद्रपुर नगरपालिका वडा नं छ निवासी भरत चौधरीले पुलको अभावमा हामीले धेरै सम्भावना गुमाइसकेको अवस्थामा यो पुल बन्नु हाम्रा भावी सन्तानलाई धेरै फाइदा पुग्ने विचार व्यक्त गर्नुभयो ।

भद्रपुर नगरपालिका वडा नं ५ निवासी विकास गुप्ताले पुलले दक्षिण झापा, भद्रपुर र मेचीपारिका जनताको गुम्न लागेको शाखलाई जोगाउन धेरै मद्दत गरेको प्रतिक्रिया दिनुभयो ।

भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारतेन्दुकुमार मल्लिकले पुल बन्दैन कि भनेर निराश भएको अवस्थामा एउटा अग्रगामी सोच राख्ने र विकासप्रति सधैँ प्रतिबद्ध रहने नेता विजयकुमार गच्छदारको प्रयासबाट पुल बनेकाले हामी झापावासी निकै आभारी छौँ भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्