पुनःनिर्माणका लागि सहुलियत दरमा काठ वितरण



बनेपा, १६ पुस : भूकम्पपीडितका लागि जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहले निःशुल्क र सशुल्करुपमा काठ वितरण गरेका छन् ।

उपभोक्ताको माग र वन समूहको क्षमताअनुसार केही ठाउँमा निःशुल्क र केही ठाउँमा सशुल्क काठ वितरण भएको वन उपभोक्ता महासंघका जिल्लाअध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले एउटा रुखका लागि न्यूनतम रु २५० देखि ३०० सम्म शुल्क लिएको उल्लेख गर्दै जिल्लाको ढुङ्खर्क, चौबासलगायतका क्षेत्रमा भूकम्पपीडितले पुनःनिर्माणका लागि काठ लगेको बताउनुभयो ।

जिल्ला वन कार्यालयका अनुसार चालू आव २०७३/७४ मा ७१६ घरधुरीलाई ३२ हजार ७४८ क्युफिट काठ पुनःनिर्माणका लागि वितरण गरिएको छ ।

सो काठमध्ये २१५ घरधुरीलाई नौ हजार ५०० क्युफिट निःशुल्क र ५०१ घरधुरीलाई रु १३ लाख ५९ हजार १७१ बराबरको २३ हजार २४७.८७ क्युफिट काठ वितरण भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन उपभोक्ता समूहको फरक फरक मापदण्डअनुसार उपभोक्तालाई घर बनाउन काठ वितरण गरिएको छ ।”

त्यस्तै आर्व २०७२/७३ मा पनि विभिन्न सामुदायिक वन उपभोक्ता समूहले २४ हजार ८४ क्युफिट काठ उपभोक्तालाई वितरण गरेका छन् । वन समूहले वितरण गरेको काठ धेरैजसो सल्लाको भएको बताइएको छ । अहिले जिल्लामा काठ वितरण भएको छैन । पाँचसय सत्तरीको हाराहारीमा सामुदायिक वन उपभोक्ता समूह रहेको काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि  काठ उपलब्ध गराइदिन भन्दै झण्डै १४ हजारले जिल्ला वन कार्यालयमा आवेदन गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्